हिमाल दैनिक
अमेरिकी प्रथम महिला मेलानीयामा कोरोना संक्रमण देखिएन
melina-trump
अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानीयाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। राष्ट्रपति ट्रम्पले पनि केही दिनअघि आफूलाई कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गराएका थिए । मेलानीयाको स्वास्थ्य परीक्षणका बारेमा यसअघि जानकारी नदिनु भएका राष्ट्रपति ट्रम्प र मेलानीयाको एकै दिन स्वास्थ्य परीक्षण गरिएको थियो । राष्ट्रपति ट्रम्पले गत मार्च १३ तारिखका दिन स्वास्थ्य परीक्षण गराएका थिए । साथै, ट्रम्पकी छोरी इभान्का ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी कारेन पेन्सले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गरेका थिए, तर रिपोर्टमा कसैलाई पनि कोरोना संक्रमण भएको देखिएको थिएन । इभान्का ट्रम्पले भेटघाट गर्नु भएका एक जना अस्ट्रेलियाली अधिकारीलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए । पछिल्ला दिनहरुमा अमेरिकामा ठूलो संख्यामा मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । साथै समाजका प्रतिष्ठित व्यक्तिहरु, कलाकार, खेलाडीहरु, सांसदहरु, ह्वाइट हाउसमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ४६ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण देखिनुका साथै ६०० भन्दा बढीको मृत्यु भएको छ ।(रासस/सिन्ह्वा)
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update