हिमाल दैनिक
इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो
italy-corona-virus
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो । त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ । चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् । तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ । त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।(रासस/सिन्ह्वा)
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update