पछिल्लो समयमा भएका दुई निर्वाचनमा निरन्तर अकल्पनीय पराजय व्यहोरेको भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) मा मंगलबार एकाएक अर्को अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था आएको छ।
खासगरी मध्येप्रदेशका १७ जना विधायकसँगै ग्वालिअरका राजपरिवारबाट कांग्रेसको राजनीतिमा धरोहरका रुपमा रहेका माधवराव सिंधियाका छोरा ज्योतिरादित्य सिंधियाले समेत पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएपछि कांग्रेसको प्रदेश सरकारमात्र होइन पार्टीभित्र युवा नेतृत्वको विकल्पका रुपमा उदाएको ज्योति निभेको छ।
सोमबार एकाएक कांग्रेसका १७ जना विधायकलाई दिल्लीदेखि बेग्लोरसम्म पुर्याएर मुख्यमन्त्री कमलनाथको सरकारको भविश्य नै खतरामा पारेका ज्योतिरादित्यले मंगलबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई भेटेलगत्तै पार्टी परित्याग गरेका हुन्।
ज्योतिरादित्यले पार्टी अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा आफू विगत १८ वर्षदेखि सदस्य रहेको पार्टीको भविश्यप्रति अविश्वास गर्दै आफूले नयाँ भविश्यको बाटो खोजेको बताएका छन्।
साथै उनले आफू र आफ्नो प्रदेशका जनताको हितका लागि विकल्प खोजेको भन्दै पार्टी परित्याग गरेको पनि बताएका छन्।
https://twitter.com/JM_Scindia/status/1237266942961967104
गत वर्ष सम्पन्न विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीका नेता शिवराजसिंह चौहानको १५ वर्ष लामो सरकारलाई ज्योतिरादित्यको नेतृत्वको कांग्रेस मोर्चाले पराजित गरेर मुख्यमन्त्री कांग्रेसको पोल्टामा पार्न सफल भएका थिए।
तत्कालिन पार्टी अध्यक्ष राहुल गान्धीसँग निकटता रहेका ज्योतिरादित्यको सपना मध्यप्रदेशको मुख्यमन्त्री बन्नेमा केन्द्रीत रहेपछि पार्टीको उच्च नेतृत्वले पुराना नेता कमलनाथलाई मुख्यमन्त्री बनाएपछि उनी रुष्ट बन्न पुगेका थिए।
त्यसको व्यवस्थापनमा पार्टीले ज्योतिराद्धित्यलाई उत्तरप्रदेशको पार्टी संगठनको जिम्मा दिएपनि असन्तुष्ट रहेका थिए।
उनले एकाएक सोमबार भाजपा नेतृत्वसँग भेटवार्ता गरी राज्य सभा सदस्य र केन्द्र सरकारको मन्त्री पाउने आशामा कांग्रेस पार्टी परित्याग गरी भाजपामा प्रवेश गर्ने तयारी गरेका थिए।
ग्वालिअरको राजपरिवारका सदस्य समेत रहेका ज्योतिरादित्यको पक्षमा रहेका विधायकले समेत पार्टी परित्याग गरेपछि कमलनाथको सरकार ढलेर फेरि भाजपाका नेता शिवराजसिंह कै नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
ज्योतिरादित्यको पार्टी परित्यागसँगै ग्वालिअरका राजपरिवारका सदस्यहरु उनकी हजुरआमा र फुपु बसुन्धरा राजेकै पंक्तिमा युवा जोश र जाँगर बोकेका ज्योतिरादित्य पनि उभिन पुगेका छन्।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय