हिमाल दैनिक
कोरोना भाइरस विश्वव्यापी बन्दै, फैलियो करिब दुई दर्जन बढी देशमा
CPRPNAVIRUS_MAP06-488a
सवैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो । कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति सङ्क्रमित भएको पुष्टि भइसकेको छ । यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको थियो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७७ सय ११ जनामा देखिएको पुष्टि भएको छ । चीन बाहेक मकाउ र हङ्कङमा धेरै व्यक्ति (८० जना) मा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ । विश्वव्यापी बन्दै गएको कोरोना भाइरस फैलिएका मुलुकहरू र सङ्क्रमितहरूको सङ्ख्या तल उल्लेख गरिएको छ ; चीन: चीनमा बिहीबारसम्ममा झण्डै ७७ सय जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरूमध्ये अधिकांश वुहान र त्यस आसपासका रहेका छन् । त्यसैगरी मृत्यु भएका १७० जनामध्ये पनि अधिकांश त्यही क्षेत्रका रहेका जनाइएको छ । अष्ट्रेलिया: अष्ट्रेलियामा यस रोगका सात जना विरामी भेटिएका छन् । ती मध्ये सात जना चीनको वुहानबाट आएका हुन् । प्रभावितहरुको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सवैभन्दा पछाडि भेटिएका ४४ बर्षीय विरामी वुहानबाटै आएका हुन् । उनको अवस्था स्थिर रहेको जनाइएको छ । कम्बोडिया: कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित विरामी सवैभन्दा पहिला गत सोमबार भेटिएको हो । उनी वुहानबाट आएका ६० बर्षीय पुरुष हुन् । हङकङ: हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । ती मध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए । भारत: भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो विरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् । ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ । अधिकारीहरुका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ । जापान: जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन् । तीमध्ये दुई जना मानिसबाट मानिसमा सरेर विरामी भएका हुन् । वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि विरामी भएका छन् । मकाउ: मकाउ चिनियाँ पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय केन्द्र मानिन्छ । यहाँ मंगलबारसम्म सात जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । मलेसिया: मलेसियामा बिहीबार थप एक जनागरी अहिलेसम्ममा कुल आठ जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु सवै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । नेपाल: नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ । फिलिपिन्स: फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो विरामी भेटिएका छन् । ३८ बर्षीया ती महिला वुहानबाट आएकी हुन् । उनमा ठूलो समस्या भने नरहेको पाइएको छ । उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन् । उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो । सिंगापुर: चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका विरामी रहेका छन् । उनीहरु सवै जना वुहानबाटै आएका व्यक्ति हुन् । दक्षिण कोरिया: दक्षिण कोरियाका संचार माध्यमहरुले सम्प्रेषण गरेको विवरण अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् । तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरु सवैजना वुहानबाट आएका हुन् । श्रीलङ्का: श्रीलङ्कामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन् । उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन् । ताइवान: ताइवानमा आठ जनामा यो रोग देखिएको छ । ती मध्ये दुई जना चिनियाँ महिला छन् । एउटा पर्यटकहरुको टोलीका साथ उनीहरु ताइवान आएका थिए । थाइल्याण्ड: थाइल्याण्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको घोषणा गरेको छ । यो संख्या चीन बाहेक अन्य देशमा भेटिएका सङ्क्रमित हरु मध्ये सवैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार ती मध्ये ६ जना चिनियाँ पर्यटक हुन् । उनीहरु वुहानबाटै आएका एउटै परिवारका व्यक्ति रहेका छन् । उनीहरु छ बर्षदेखि ७० बर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन् । भियतनाम: भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ । सङ्क्रमित मध्ये एक जना पुरुष चीनको हो चि मिन्ह सहर हुँदै यही महिनाको सुरुमा वुहानबाट आएका व्यक्ति हुन् । उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ । क्यानडा: क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ । अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ । अमेरिका: स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सवै जना हालै वुहानबाट आएका हुन् । उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक एक जना अरिजोना, सिकागो र वासिङ्टन राज्यमा देखिएका हुन् । फिनल्याण्ड: चीनको वुहानबाट आएका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको सङ्क्रमण देखिएको फिनल्याण्डका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर विषेश उपचार भइरहेको छ । फ्रान्स: फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण देखिएको छ । युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सवैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ । उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । जर्मनी: जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो मानिसबाट मानिसमा सरेको पाइएको छ । चिनियाँ साथीहरुले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्ति विरामी महसुस गरेर अस्पताल गएका थिए । उनैबाट अरूलाई सरेको चिकित्सकहरूको भनाई छ । विरामी भएका चारै जनालाई म्यूनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ । संयुक्त अरब इमिरेट्स (युएई): चीनको वुहानबाट केही दिन अगाडि आएका चार जना चिनियाँ व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको युएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update