हिमाल दैनिक
अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर
ENRGyJTWkAAiK6R
सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो । क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर हुनुभएको हो भने पहिलो महिला चान्सलर हुनुभएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् । संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ । चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उहाँको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ । क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा हुनुहुन्थ्यो । त्यसअघि उहाँ अमेरिकी विदेश मन्त्री पनि हुनुभएको थियो ।रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update