कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । २६ औं संस्करणको क्यान इन्फोटेकमा रहेका १७४ स्टलमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी आयोजकले दिएको छ ।
यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेसन एक्सपोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्नेछन् । त्यस्ता सहभागीलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई नेश्नल आइसिटी डेको अवसर पारेर पुरस्कृत गर्ने घोषणा आयोजकले गरेको छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताए।
क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्रान्डिङ, आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, ई–बेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र हुने आयोजकले जनाएको छ । गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय