भन्सार बिभागले जाँचपास प्रक्रियालाई सरल बनाउनका लागि भन्सार बिन्दुमा पूर्वाधारको निर्माण गर्ने र जाँपचासमा प्रविधीको प्रयोग बढाउने जनाएको छ ।६८ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार स्म्मेलन गदैै बिभागले यस्तो जानकारी दिएको हो ।
त्यस्तै आयातलाई व्यवस्थित बनाउन सिंगल कन्साइन्मेन्ट प्रणाली कार्यान्वयनको तयारी गरिएको विभागले जनाएको छ । अहिले एउटै कन्साइन्मेन्टबाट जति पनि सामान ल्याउन पाउने व्यवस्था रहेको भन्दै बिभागले यसलाई व्यवस्थित बनाउन नयाँ प्रणालीमा जान खोजिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले जाँचपास प्रक्रियालाई पनि सरल बनाउन पनि प्रविधीको प्रयोग बढाउदै सिंगल कन्साइन्मेन्ट प्रणालीमा जान लागिएको बताए । उक्त प्रणालीको कार्यान्वयनपछि एउटा कन्साइन्टमा एउटा वर्गीकरणमा परेका वस्तुमात्रै आयात गर्न सकिने बिभागको भनाई छ ।
अहिले आयातकर्ताले एउटा कन्साइन्मेन्टबाट धेरै वस्तु आयात गरिरहेका छन् । महानिर्देशक दाहालले आइटि बेस प्रणालीले भन्सारको सवैका काम डिजिटल हुने र कसैले हस्तक्षेप गर्न नसक्ने बताए ।
विभागले देशमा भित्रने कूल वस्तुमध्ये ९.४४ प्रतिशतमात्रै सन्दर्भ मूल्यका आधारमा जाँचपास हुने गरेको पनि जनाएको छ । विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले ९०.५६ प्रतिशत वस्तु कारोबार मूल्यका आधारमा जाँचपास भइरहेको बताए । बिभागले जनवरी २६ अर्थात आगामी आइतबार ६८ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाउने जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय