हिमाल दैनिक
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छः मन्त्री भट्ट
Lekharaj Bhatta
उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भन्नुभयो, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।” उहाँले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिनुभयो । उखु किसानका ११ बँुदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पार्नुभयो । उहाँले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिनुभएको थियो । मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिनुभएको थियो । रासस
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update