लकडाउन अवधि बढ्दै जादा अत्यावश्यक सामग्री अभाव हुन नदिन भन्दै सरकारले त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ । सिंहदरबारमा बिहिबार बसेको कोभिड – १९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले ठूला आयोजना पनि सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
खतिवडाले बाहिरका श्रमिकलाई प्रवेश नदिइ माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने निर्णय गरेको बताए । त्यस्ता उद्योग र आयोजनामा संलग्न श्रमिकको भने कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक सुरक्षा सामग्री प्रयोग गरेर मात्र काम गर्न दिइने निर्णय भएको खतिवडाले बताए ।
त्यस्ता उद्योग र आयोजनामा काम गर्ने विदेशी श्रमिक भए उनीहरुलाई तत्काल उक्त काममा लगाउन नपाइने समितिले निर्णय गरेको छ । बैठकले बाहिरी श्रमिक नल्याई गाउँघरको श्रमदानबाट कृषि कर्म गर्न दिने निर्णय गरेको छ । बैठकले नेपाल भारत सीमामा तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको छ । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेको खतिवडाले बताए ।
बैठकमा अहिलेसम्म गरेका काम र मन्त्रिपरिषदको पछिल्लो निर्णयबाट स्थापना भएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सिसिएमसी)सँग सामञ्जस्यता साथ काम गर्ने विषयमा छलफल भएको बताए । त्यस्तै स्वास्थ्य उपचार, सामग्री आपूर्ति, लजिस्टिक, शान्ति सुरक्षा र सूचना प्रविधिका विषयमा समितिले कार्यदल बनाएर काम गर्ने विषयमा छलफल भएको उनले बताए ।
बैठकले अत्यावश्यक वस्तु ढुवानीलाई अझ सहज गर्ने निर्णय पनि समितिले गरेको छ । उनले चीनबाट आएका सामाग्रीको परिक्षण गरि प्रयोगमा ल्याइने र प्रकृयाका बारेमा भएका त्रुटीका बारेमा पछि छलफल गरिने बताए ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय