नेपालमा कोरोनाभाइरस अर्थात कोभिड १९ संक्रमितको संख्या ६ पुगेको छ । बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको जानकारी दिएका हुन् ।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको बताए । चैत्र ४ गते दोहाबाट काठमाण्डू आएको उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको उनले बताए ।
यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड १९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका थिए । हालसम्म ११ सय ८४ जनामा कोभिड १९ को परीक्षण गराएको उनले बताए । त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइशोलेसनमा राखेर उपचार जारी राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय