हिमाल दैनिक
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि केहि क्षेत्रको आवागमन खुला गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि केहि क्षेत्रको खुला गर्ने निर्णय गरेको हो । विभिन्‍न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए। समितिले कोलकोत्ताबाट नेपालको भन्सारमा बिन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाइ छुटाउनको साथै ती सामानहरु उपभोक्ता सम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको खतिवडाले बताए । समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तिय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरी बाहिर ननिस्कन र दूरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधरणलाई अपिल गरेको उनले बताए । समितिले शुक्रबार सबै प्रदेशका मुख्य मन्त्रीसँग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको र क्‍वारेन्टान केन्द्र सञ्‍चालनसम्बन्धी केन्द्र सरकारले पठाएको मापदण्ड अनुसार काम गर्ने र संक्रमण फैलन नदिन हरसंभव प्रयास गर्ने सम्बन्धमा सबैले प्रतिबद्धता जनाएको पनि खतिवडाले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update