हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइस (कोबिड १९) को संक्रमण नेपाल भित्रिन नदिन सरकारको प्रभावकारीता नदेखिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरानाले मच्चाएको विश्वव्यापी आतंकको वातावरणमा नेपालले अपनाउनु पर्ने सतर्कताबारे सबै गम्भीर भएको र उक्त जोखिमको सामाना गर्न सरकारलाई आफ्नो पार्टीको सम्पूर्ण साथ रहेको दोहोर्याएका पनि छन्। कोरोना जोखिमप्रति विशेष सतर्कताको अपिल शीर्षकमा ९ बुँदे सुझावमा देउवाले सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा रहेको बताउँदै तत्काल प्रभावकारी बन्दोबस्त मिलाउन सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन्। संभावित जोखिमको सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरुदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्नेमा देउवाले जोड दिएका छन्। यसैगरी उनले कोरोना भाइरसको विषयमा समाजमा अनेक अफवाह फैलिन जाँदा सर्वसाधारण जनतामा त्रास र भयावहस्थित रहेको बताउँदै त्यसलाई चिर्न वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको उनले बताएका छन्। साथै कोरोनाको नाममा अहिले बजारमा अत्यावश्यक खाद्यान्नको थप मुल्य बृद्धिसंगै कालोबजारी फस्टाएको बताउँदै उनले बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता रहेको बताएका छन्। त्यसैगरी सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको उनको सुझाव छ। सरकारले यस वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेपनि कोरोनाको कारण देशको पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको बताउँदै उनले कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेकामा चिन्ता व्यक्त गरेका छन्। उनले निजि क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसले पार्न सक्ने आर्थिक संकटप्रति लक्षित गर्दै सभापति देउवाले समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी भएको पनि बताएका छन्। साथै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेषगरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने तर्फ संकेत गर्दै देउवाले विपन्न र गरिब जनताका लागि राहतको योजना ल्याउन सरकारसँग माग पनि गरेका छन्। विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्नेगरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण उनले गराएका छन्। साथै उनले स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update