हिमाल दैनिक
बिहिबार दिउँसो १ बजे बस्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै बस्न सकिरहेको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न भन्दै बोलाइएको बैठकअघि विभिन्न गुट उपगुटको छलफल चलिरहेकाले निर्धारित समयमा बैठक बस्न सकिरहेको छैन। बैठकमा लिपुलेकलगायतका सीमाका विषयमा पार्टीको धारणा, विजयकुमार गच्छदार नेतृत्वको तत्कालि फोरम लोकतान्त्रिकसँग पार्टी समायोजन सम्बन्धी प्रतिविदेन, यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, विभिन्न भातृ संस्थाको विधान, पार्टीको विभागको गठन तथा तरूण दलको विषयमा छलफल गर्ने एजेण्डा राखिएको छ। आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्था छ। विधानमा २८ विभाग रहने व्यवस्था गरिएको छ भने केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्थासमेत उल्लेख छ । यसैगरी बैठकमा समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको भ्रातृ र छ शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुनेछ । पार्टीका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी सङ्घ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको छ । त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update