प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उनिहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको छ।
दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सन् २०२० सफल रहने विश्वास उनिहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० ले टेलिफोन संवाद गरेको उनका प्रेस सल्लाहकार थापाले जानकारी दिए।
उनिहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्नुभएको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राखेको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।
टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु-याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थापाले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय