सभापति शेरबहादुर देउवाले पछिल्लो समय लिएका निर्णयको विरोधमा उत्रिएका असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेललाई उपसभापति विमलेन्द्र निधिले भेटेर पार्टीभित्र सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन्।
पटक पटक केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेर गुटगत बैठकमा पौडेलपक्ष व्यस्त रहेपछि सभापति देउवाले त्यसको वेवास्ता गर्दै गत शुक्रबार पार्टीको महाधिवेशनको तिथि, मिति तय गर्नेदेखि कार्यसमितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेपछि सभापति देउवाले बहुमतको आडमा आफूहरुलाई पेलेको आरोप लगाउँदै पौडेल पक्षले उक्त निर्णय सच्याउन माग गर्दै आएको छ।
निर्णय नसच्याएसम्म सभापति देउवासँग वार्ता गर्न नजाने उद्घोष गरेका पौडेललाई सोमबार बिहान उपसभापति निधिले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका थिए।
उपसभापतिसँगको भेटवार्तापछि हिमाल दैनिकसँग कुरा गर्दै नेता पौडेलले भने, ‘उपसभापतिजी आएर अब के गर्ने, कसो गर्ने र कसरी अघि बढ्ने भन्नु भएको थियो। मैले पहिले शुक्रबार गरिएका निर्णय सच्याउन भने। त्यसपछि उहाँ जानुभयो।’
पछिल्लो समय गटगत आधारमा नेताहरु विभाजित भएर केन्द्रीय समिति बैठकमा उपस्थित हुने र नहुने अवस्थाका बाबजूद पनि पार्टीले लोकतान्त्रिक प्रक्रियाको आधारमा केही महत्वपूर्ण निर्णय लिएपछि त्यो विवाद बाहिर छताछुल्ल हुन पुगेको थियो।
यसका बाबजूद पनि सभापति देउवा र उनी पक्षका नेताहरुले आगामी महिना हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा केही दिनभित्रै हुन लागेको सभामुखको चुनावका विषयमा पार्टीको निर्णय गर्न केन्द्रीय कार्यंसमिति बैठक डाक्ने र त्यसमा असन्तुष्ट पक्षलाई पनि उपस्थित हुन आग्रह गर्ने सुझाव अनुसार उपसभापति निधि आज पौडेललाई भेट्न पुगेका थिए।
स्रोत अनुसार, सभापति देउवाले सभामुख, उपसभामुख तथा राष्ट्रिय सभा सदस्यहरुको १९ सिटका लागि हुन लागेको चुनावमा पार्टीका तर्फबाट के कति स्थानमा को कसलाई प्रस्तुत गर्ने भन्नेबारे यहि पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक डाक्ने तयारीमा सभापति देउवा रहेका छन्।
उक्त बैठकमा उपस्थित हुने र निर्णय पक्रियामा सहभागी हुने कि निरन्तर बहिष्कारको प्रक्रियालाई अघि बढाउने भन्नेबारे पौडेल पक्ष सकसपूर्ण स्थितिमा पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय