हिमाल दैनिक
कोइराला र सिंहकोबीचमा बसेर पौडेलले भनेः पार्टीलाई धरापमा पार्नेगरी गरेकाे निर्णय देउवाले सच्याउनु पर्छ
80474797_10157959396177329_6615231946400202752_n
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेर पार्टीलाई धरापमा पारेको गम्भीर आरोप लगाएका छन्। मंसिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यसमितिको बैठक निरन्तर बहिष्कार गर्दै आएको असन्तुष्ट पक्षका सदस्यहरुको अनुपस्थितिमै सभापति देउवाले शुक्रबारको बैठकमार्फत पार्टीको कार्यकाल ०७७ फागुन १९ सम्म थप गर्दै आगामी वर्षको फागुनमा १४ महाधिवेशन गर्ने गरि भएको निर्णयको विरोधमा पौडेलले यस्तो आरोप लगाए। असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला गरी त्यसपछि आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले डेढ वर्ष अघिदेखि १४औं महाधिवेशनको तयारी समयमै गराउने गरी प्रस्ताव राखेकोमा सभापतिले वेवास्ता गर्दै शुक्रबार लिएको निर्णय तत्काल सच्याउन माग गरे। ‘मैले डेढ वर्षअघि देखि नै पार्टीको सुनौलो भविश्यका लागि समयमै अधिवेशन गर्नेगरी जाउँ भनि प्रस्ताव राखेको थिए। त्यसपछि पनि गएको असारमा पनि फेरि निर्णय गरी कार्तिक मसान्तसम्म सबै तहको अन्तरिम समायोजन गरी मंसिरदेखि महाधिवेशनको कार्यतालिका अनुसार अघि जान निर्णय भएको थियो,’ पौडेलले भने। जब कि पार्टीको असारमा नभई साउन १७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको पहिले निर्णय अनुसार मंसिर मसान्तसम्म विधानको दफा ७२ बमोजिम समायोजन गरिसक्ने उल्लेख छ। आफूले भातृ संस्थाको अधिवेशन कैंयन वर्षदेखि रोकिएको र नेविसंघको अधिवेशन, दलित संघको अधिवेशन नभएको अवस्थामा एउटा सिष्टममा जाउँ भनेको र बीचमा ९ बुँदे माग राखेर छलफल चलिरहेको बेला विधानको वास्ता नगरी सभापतिले बहुमतको आडमा निर्णय लिनु आपत्तिजनक भएको बताए। ‘फागुनमा कार्यकाल सकिने अवस्थालाई ७७ सालको पल्लो छेउमा बाँकी रहेको असाधारण परिस्थितिमा हुन सकेन भने अधिकतम भनेको छ। खण्ड खाँतिर अधिवेशन भएन भने पार्टीको हैसियत के हुन्छ? यसले पार्टीलाई संकट पर्छ कि पर्दैन?,’ उनले प्रश्न गर्दै भने। राष्ट्रमा आम चुनावको मिति तोक्दा पनि सबै पार्टीलाई सोधरे गरिने गरेको बताउँदै उनले आफ्नो पार्टीमा केही व्यक्तिहरु मात्रै बसेर विधान विपरित विभागको संख्या २८ बाट ४७ बनाएर १२ सय महासमिति प्रतिनिधिले गरेको निर्णय उलंघन भएको आरोप पनि लगाए। कांग्रेसको संशोधित विधानमा कतिपय सस्ता दफाहरु राखिएको छ जसको निलम्बन नगरी अबको एक वर्ष त के अर्को डेढवर्षभित्र पनि अधिवेशन गराउन असम्भव प्रायः देखिन्छ। विभाग गठन लगायतको विषयमा आपत्ति जनाउँदै उनले भने, ‘देशमा चुनावको मिति तोकिएपछि देशमा कुनै नियुक्ति हुँदैन भने यहाँ नियुक्तिको प्रञ्पचले हामीलाई आशंका उत्पन्न भएको छ।’ साथै उनले विधानका केही दफाहरु निलम्बन गर्ने गरी भएको निर्णयको पनि विरोध गरे। उनले पार्टीको वैधानिक अवस्थालाई भताभुंग बनाउने काम भएको आरोप लगाउँदै सभापतिले गलत मनसाय र गलत परिणाम ल्याउने गरी गरेको निर्णय करेक्सन गरी सच्याउन माग गर्दै सबै कार्यकर्तालाई सजग रहन पनि आग्रह गरे। प्रजातान्त्रिक आनदोलन कांग्रेसको आडमा अडेको बताउँदै कम्युनिष्टले चुनावमा भोट बढि ल्यायौँ भन्दैमा एकलौटी गर्न पाइन्न भनि शेरबहादुरकै नेतृत्वमा भनिरहेको बेला त्यहि कुरा पार्टीभित्र कसरी गर्न सकिन्छ भनि प्रतिप्रश्न पनि गरे। साथै उनले आफूहरु सरकारले गरेका भ्रष्टाचार र व्यथितिपूर्ण गोकर्ण रिसोर्टदेखि वाइडबडी देखिका कुरादेखि पार्टभित्रको एकलौटी निर्णयविरुद्ध र देश र पार्टीलाई सहि बाटोमा हिँडाउने दाबी गरे। पटक पटक बैठक रोकेर सहमतिको प्रयास गर्दा पनि सहमतिको लागि तयार नभएपछि आफुहरु विधिसम्मत ढंगले अघि बढेको भन्ने संस्थापन पक्षको दाबीप्रति पौडेलले आफुहरु हामी सहमतिकै प्रक्रियामा रहेको भएपनि सभापतिले एकलौटी निर्णय गरेको आरोप पटक पटक लगाए। पार्टीलाई निश्पक्षता, पारदर्शीता, मूल्यांकन पद्धतीबाट संस्थागत विकास होस् र नेविसंघको कुरा कुन विधानमा उभिएर गर्ने भनि नीतिगत वैधानिक आधार समातेर जाउ भन्दा उपेक्षा गरिएको भन्दै यसलाई सच्याइनु पर्ने र नभए एक पछि अर्को कदम चाल्ने उनले चेतावनी दिए। सहमतिको प्रयासका लागि सभापति देउवा पौडेल निवासमा पुगेर आग्रह गरेजस्तै असन्तुष्ट पक्षले सभापतिलाई भेटेर सहमतिको पहल गर्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हामी सभापतिलाई भेट्न जाँदैनौँ। हाम्रा कुरा महामन्त्री, पूर्वमहामन्त्रीले तपाइहरु सामू राख्नु भएको छ।’ साथै उनले महाधिवेशनको कार्यतालिका निर्वाचन समिति र अरु साथीहरुसँग पनि सल्लाह नगरी ल्याएको र ७७ फागुनमा गर्ने कुरा पार्टीलाई धरापमा पार्ने काम भएको भन्दै त्यसलाई डरलाग्दो कुरोको संज्ञा दिए। जबकि संस्थापन पक्षका नेताहरुले ५ सदस्यीय निर्वाचन समितिको परामर्शमा निर्वाचन कार्यतालिका तयार पारेको बताउँदै आएको छ। पार्टी विधान अनुसार चल्छ कि सहमति भन्दा उनले गोलमटोल पारामा भने, ‘विधान पनि सहमति पनि दुबैले। वैधानिक परिधिभित्र सहमतिमा कांग्रेस चल्छ।’ पत्रकार सम्मलेनमा सहभागी नेता प्रकाशमान सिंहले १३औं महाधिवशेन पश्चात नेतृत्वले विधान अनुसार काम नगरेर समय घर्किएपछि पार्टीको अस्थित्वको नाममा समस्या निम्त्याएको आरोप लगाए। आफुहरुले ९ बुँदे मागकै सेरोफेरोमा रहेर विधिसम्मत र न्यायसंगत तबरले अघि बढौँ भनि वार्तामा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गरी मंसिरसम्मको खाका दिएकोमा फागुनमा लगेकोमा आपत्तिजनक भएको बताए। आफूहरुले वार्तामा सहमतिको नजिक नजिक आउँदा कार्यतालिका, क्रियाशीलता, भातृ संस्थाको कुरामा गिभ एण्ड टेकको कुरा गरेको बेला वार्ता टूंगोमा नपुगी जुन निर्णय भयो यसले कांग्रेसको परम्परा, विधि, संस्थागत प्रक्रियामा अलोकतान्त्रिक निर्णय भएको भन्दै यसलाई सच्याउन माग गरे। असन्तुष्ट पौडेल पक्षका नेताहरुको बैठक आफ्नो घरमा राखेर पत्रकार सम्मेलनमा उपस्थित महामन्त्री शशांक कोइरालाले पाटीभित्र गुट उपगुट भएको भन्दै त्यसको अन्त्यविना पार्टी बलियो नहुने बताए। आफूले धेरै पहिलेदेखि सभापति देउवा र नेता पौडेललाई गुटको अन्त्य गर्न आग्रहग गर्दै आएको बताउँदै यसका लागि पहिले सभापति र त्यसपछि रामचन्द्र पौडेल अनिमात्र आफूहरु जिम्मेवार भएको बताए। पदाधिकारी बैठकमा उपस्थित भएर बैठकको एजेण्डा सहमतिका आधारमा तयार गरेको भोलिपल्ट गुटका नेताहरुको दबाबमा बैठकमा अनुपस्थित रहेका कोइरालाले पनि हिँजोको निर्णय आफूहरुलाई लागि ठिक नभएको भन्दै यसले पार्टीलाई झन धरापमा पारेको आरोप लगाए।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update