हिमाल दैनिक
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टि र अनुपस्थितिका बाबजूद सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक राख्दै महाधिवेशनको तिथि, मिति र कार्यतालिका पारित गरेका हुन्। पार्टीको संशोधिन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसिमाभित्र अधिवेशन गराउन कानूनी असहजता उत्पन्न हुने देखिएपछि सभापति देउवाले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोग मार्फत उक्त दफासहित अन्य केही दफाहरु पनि निलम्बन गरेका छन्। साथै आजको बैठकले पार्टीको चारवर्षे कार्यकाल आगामी फागुन १० गते सकिने अवस्थामा विधानको प्रावधान अनुसार विशेष परिस्थिति र संक्रमणकालको अवस्थालाई ध्यानमा राख्दै ०७७ फागुन १९ गतेसम्म म्याद थप गरेको छ। त्यसैगरी महाधिवेशनका प्रक्रिया सुरु गर्न विधानको दफा ७२ को उपदफा २ बमोजिम पार्टीको अन्तरिम संरचना यहि पुस मसान्तभित्र गठन गरिसक्ने र त्यसलगत्तै महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गर्ने निर्णय पनि भएको छ। यसैगरी आजको बैठकले विधानमा भएको व्यवस्था अनुसार, पार्टीका विभाग २८ बाट बढाएर ४१ बनाउने तथा नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्दै उक्त अवधिभित्र अधिवेशन गर्न समेत निर्देशन जारी गरेको छ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update