सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण आजको प्रतिनिधि सभा बैठक सूचना टाँस गर्दै स्थगित भएको छ।
सभामुखको चयन प्रक्रियाको विषयमा नेकपाको नेतृत्वबीचको टकरावसँगै उपसभामुख शिवमाया तुम्बाहाङफेको अडानले जटिलता उत्पन्न भएपछि उपसभामुख तुम्बाहाङफेले शुक्रबार अपरान्ह संविधानको धारा ९१ को ४ तथा प्रतिनिधि सभा नियमावलीको नियम ७५ को उपनियम ३ बमोजिम आजको बैठक पुस १६ गते १ बजेसम्मका लागि सूचना मार्फत स्थगित गरेकी हुन्।
सूचना प्रकाशित गर्नु अघि उपसभामुखले बिहान ११ बजेपछि संसद सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन्।
जसमा उनले विशेष परिस्थितिका कारण आजको बैठक स्थगित गर्ने जानकारी दिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले बताए।
संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ।
उक्त पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका तर्फबाट आफ्नो विश्वासीपात्रलाई सभामुख बनाउन चाहने र नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पूर्र्वमाओवादीबाट सभामुख बनाउन चाहने आपसी विवादका कारण अहिलेसम्म नेकपाले सभामुखमा कसलाई अघि बढाउँछ भन्ने औपचारिक टुंगो लाग्न सकिरहेको छैन।
नेकपाभित्र प्रधानमन्त्री ओली निकट नेताहरुका अनुसार, सभामुखमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ नै अवको सभामुख हुने सम्भावना अत्याधिक रहेको छ। तर, दाहालले माओवादीकै नेता अग्नी सापकोटा अथवा हरिबोल गजुरेलको नाम अघि सारिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीको साथ र समर्थन पाएकी उपसभामुख तुम्बाहाङ्फेले सभामुखको पदमा दाबी गर्दै आइरहेकी छिन्।
नेतृृत्वले संविधानको धारा ९१ को उपधारा २ बमोजिम सभामुख पदका लागि चुनावी प्रक्रिया सुरु गर्नका लागि उपसभामुख पदबाट राजीनामा दिएर बाटो खुलाइदिन आग्रह गर्दै आएको छ। तर, उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने अडान लिएपछि नेकपा नेतृृत्वको दबाबमा आजको बैठक स्थगित गरिएको हो।
यसरी यदि नेकपाबाट निर्र्वाचित उपसभामुखले सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको धारा ९१ को उपधारा २ बमोजिम सभामुख र उपसभामुखमध्ये एक अलग दलको हुनु पर्ने प्रावधान बमोजिम सभामुखमा नेकपाको दाबी रहन नसक्ने धारणा प्रधानमन्त्री ओली लगायतका नेताहरुसमक्ष राखिसकेको छ।
त्यस अवस्थामा सभामुखको पद गुम्ने खतरा रहेको भन्दै नेकपाका नेताहरुले उपसभामुखलाई तत्काल राजीनामा दिएर एउटा बैठक जेष्ठ सदस्यहरुमध्ये राजपाका महन्थ ठाकुरले चलाएर सभामुखको चयन गराउने र त्यसपछि उपसभामुखको निर्वाचन गराउने प्रयास जारी राखेको छ।
नेकपाका नेताहरुले उपसभामुख तुम्बाहङ्फेलाई राजीनामा गराएर तत्काल कानून मन्त्री अथवा सरकारमा कुनै मन्त्रालय दिने आश्वासन दिँदा पनि अटेर गरेर सभामुखमा दाबी गरिरहेकी तुम्बाहाङ्फेले अन्ततः आज वा भोलिसम्ममा पदबाट बाध्यताबस राजीनामा दिन सक्ने नेकपाकै नेताहरुको दाबी छ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय