समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको बुधबार बसेको पदाधिकारी बैठकपछि उक्त पार्टीले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए।
हिजोसम्म सरकारलाई दुई तिहाइको दम्भ रहेको र अब आफूहरुले दिएकाे समर्थन फिर्ता लिइसकेपछि त्यो समाप्त भएको उनले बताए।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनकाे प्रस्तावबारे छलफल गर्न समेत अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताए। प्रधानमन्त्रीले गठबन्धनको संस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढंगबाट अघि बढेको पनि यादवले आरोप लगाए।
आफूहरु संविधान संशोधन हुने आशामा सरकारमा बसिरहे पनि आफूले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य सकिएको उनको भनाइ छ।
केही दिनअघि स्वास्थ्यमन्त्रीकाे हैसियतमा दिल्लीमा नेपालकाे प्रतिनिधित्व गर्दै एउटा कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री यादवकाे मन्त्रालय उनीसँगकाे परामर्शवीना नै फेरिएपछि आफू उक्त कार्यक्रममा सहभागी हुन नपाएर अपमानित हुनु परेकाे प्रति यादवले दुःखेसाे पाेखे।
पत्रकार सम्मेलनमा समाजवादीका अर्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने बताए।
मंगलबारमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको समाजवादी पार्टी २०७५ जेठ १४ गते २ बुँदे सहमति गर्दै सरकारमा सहभागि भएको थियो।
सहमतिका संविधान संशोधन गर्ने मुख्य माग थियो। पार्टीका तर्फबाट ओली सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री र मोहम्मद इत्तिह्याक राई सहरी विकास मन्त्री थिए।
प्रधानमन्त्रीसँग मतभेद चर्किँदै गएपछि मंगलबार मात्रै समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी यी मन्त्रीद्वय यादव र राईले बेग्लाबेग्लै पत्रमार्फत पदबाट राजीनामा दिएका थिए। जसमा मन्त्री यादवले प्रधानमन्त्री ओलीकाे कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै राजीनामा गरेका थिए भने राईले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।
प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ सांसद छन् । समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै ओली सरकारको दुई तिहाई मत गुमेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय