नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार सम्पन्न स्थायी कमिटी बैठकले एमसीसी इन्डो प्यासिफिकको अंग होइन भन्ने प्रमाणित भएपछि मात्र निर्णय गर्न सचिवालयलाई जिम्मा दिएका हो ।
यसअघि बैठकमा एमसीसीबारे पार्टीको स्पष्ट धारणा बाहिर आउनुपर्ने आवाज उठेको थियो भने केहि सदस्यहरुले एमसीसी संसदबाट पारित गर्न नहुने धारणा राखेका थिए । बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारतले अतिक्रमण गरेकाे स्वीकार्दै सरकारसँग कूटनीतिक पहल गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सीमा क्षेत्रमा नेपालले गर्न लागेका सडक तथा बाँधको निर्माणमा भारतीय पक्षले रोकेको विषयमा पनि सरकारलाई यी समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ भने सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय