हिमाल दैनिक
नेपाल ट्रष्टको जग्गा लिजमा यति समूहलाई कौडीको भाउमा दिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेल नीतिगत भ्रष्टाचारमा आफैँ संलग्न भएको आरो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले लगाएका छन्। पुस ४ गतेदेखि सुरु भएको विधेयक अधिवेशन अन्तर्गत सोमबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको विषयमा सरकारले सदनसमक्ष जवाफ दिनु पर्ने माग गरे। उनले ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्रीको समेत यस अनियमिततामा संलग्नता रहेको आशंका उब्जिएको दाबी गरे। गत वर्षको फागुनमा संघीय संसदबाट पारित भएको केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकको दफा २७ मा नेपाल ट्रष्ट सम्बन्धी ऐनको संशोधन विधेयक राखेर सरकारले बदनियत पूर्ण ढंगले संशोधन ल्याएको प्रसंग उल्लेख गर्र्दै आफ्नो पार्टी र आफूले त्यतिबेलै त्यसको विरोध गरेको बताए। त्यतिबेला बहुमतको आडमा सरकारले विधेयक पारित गराउँदा आफूले त्यसको समर्थनमा रहेको सरकारसँगै सांसदहरु सबैले नीतिगत भ्रष्टाचारमा सहकार्य गरेको ठहर्छ भन्ने धारणा सदनमा राखेको पनि बताए। https://www.facebook.com/himaldainik/videos/297827124482451/?t=1 उनले नेपाल ट्रष्टको सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति पनि दिए। ट्रष्ट सम्बन्धी कानूनमा ट्रष्टको सम्पत्तिमा हकाधिकार र भोगाधिकार पनि बन्देज गरिएकोमा त्यसको अपचलन गर्ने मनसायकासाथ सरकारले कानून संसोधन गरेको अहिलेको घटनाक्रमले नै पुष्टि गरेको दाबी उनको थियो। सांसद अधिकारीले भने, ‘साविक कानून बमोजिम नेपाल ट्रष्टको सम्पत्ति व्यवसायिक प्रयोजनका लागि दिने अवस्था थिएन तर, नेपाल ट्रष्टमाथि हक जमाउन खोज्ने गिद्धे दृष्टिलाई यो असैह्य थियो। उनीहरु यति शक्तिशालि थिए कि, तिनले सत्ताको बागडोर लिएको पार्टीलाई नै कानून संशोधन गर्न बाध्य पारे। जब व्यवसाय र सरकारबीचको लक्ष्मण रेखा मेटिन्छ, भ्रष्टाचार त्यही मौलाउँछ।’ यतिबेला भ्रष्टाचारको सम्बन्धमा प्रधानमन्त्रीको भनाई र गराईमा आकाश र जमिनको फरक रहेको भन्दै नेपाल ट्रष्टको जग्गा लिजमा दिने विषयमाथिको विवादले प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको संलग्नता त थिएन भन्ने आशंका पैदा भएको उनले बताए। सत्तामा बस्दा जनता के सोच्दछन् र भन्दछन् भन्नेबारे प्रधानमन्त्रीलाई थाहा नभएको हुन सक्दछ कि भन्ने प्रश्न उनले गरे। ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीज्यूको भनाई जग हँसाई भएको छ। नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा पछिल्लो एकहप्तामा प्रकाशित पत्रपत्रिकामा छापिएका समाचारले समाजमा विकसित हुँदैछ,’ उनले भने। प्रधानमन्त्री कार्यालयबाट यसबारे कुनै खण्डन नभएको देख्दा यो घटनाले दूधको साक्षी विरालो भने जस्तो भएको आरोप उनले लगाए। ‘नारायणहिटी राजदरबारको विदेशी पाहुनालाई सत्कार कक्षमा रेष्टुराँ खोल्न यसै व्यवसायिक प्रतिष्ठानलाई दिन कसरत चल्दै छ, किन रेष्टुराँ मात्रै खोल्ने? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइहाल्यो नि! त्यो त अझै राम्रो होला,’ उनले कड्किँदै भने। अधिकारीले पास्चदर्शी कानून बनाएर व्यवसायिक प्रयोजनका लागि नेपाल ट्रष्टको जग्गा दिन सकिने कानून बन्नु अघि नै दरबारमार्गको १ रोपनी १४ आना जग्गा नेपाल ट्रष्टका ट्रष्टीहरुले व्यापारीक प्रतिष्ठानलाई दिएको आरोप लगाए। साथै उनले सत्तपक्षकै सांसद खिमलाल भट्टराई समेतले उक्त विषयमा जवाफ मागेको भन्दै यस प्रकरणबारे जवाफ माग गरे। गोकर्ण रिसोर्टको जग्गा पनि ६ वर्षको समय बाँकी हुँदा अहिले नै म्याद थप गरिएको र अबको पालो भक्तपुरको जग्गा भन्ने भइरहेको छ। तर, सरकारले यसबारे कानमा तेल हालेर बसेको तर, यसबारे टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कुनै चासो नदेखाएर यसमा उच्च राजनीतिक संलग्नता भएकाे उसलाई पनि थाहा रहेछ। यसले जर्ज अर्वेलको एनिमल फार्मको सबै जनावर समान हुन् तर, केही अलि बढि समान हुन् भन्ने भनाईलाई बुझ्न आफूहरूलाई समय लागेकाे बताए।  
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update