हिमाल दैनिक
प्रम ओलीको ट्वीटरबाट सोनियाको भाषण रिट्वीट भएपछि बालुवाटारमा खैलाबैला
PM oli retweet
प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको आधिकारीक ट्वीटर ह्याण्डलबाट भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी लगायत अन्य कतिपय व्यक्तिको ट्वीट रिट्वीट भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री ओलीको नाममा रहेको @PM_Nepal ह्याण्डलबाट शुक्रबार साँझ भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पछिल्लो समय भारत सरकारले जारी गरेको विवादस्पद नागरिकता सम्बन्धी कानून विरुद्ध जारी सर्वसाधारणको सडक आन्दोलनबारे दिएको अभिव्यक्ति रिट्वीट भएपछि प्रधानमन्त्री कार्यालयका सहयोगीहरु शंकाको घेरामा परेका छन्। https://twitter.com/ThapajiSurya/status/1208076814448578562 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसलगत्तै आफ्नो ट्वीटरमार्फत सार्वजनिक जानकारीका दिँदै भनेका छन्ः सम्माननीय प्रधानमन्त्रीज्यको twitter @PM_Nepal बाट अन्यथा retweet भएको देखिन आएको छ। पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ। तसर्थ: कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु। प्रधानमन्त्रीको ट्वीटरबारे थापाले हिमाल दैनिकसँग भने, ‘कसैले उहाँको ह्याण्डल ह्याक गर्ने कोशिश गरेको हुन सक्दछ। तर, सफल भने भएनछ। हिँजै साँझ उहाँको ट्वीटरमार्फत सोनिया गान्धी लगायत अन्य कतिपयको ट्वीट पनि रिट्वीट भएको जानकारीमा आउँनासाथ हाम्रो आइटी टिमले त्यो दुरुपायोग भएको विषयमा छानविन गरी आवश्यक कदम चाल्दैछ।’ प्रधानमन्त्री ओलीको नाममा रहेको उक्त ट्वीटर उनका सहयोगीहरुमध्येकै केही व्यक्तिहरुले चलाउँदै आएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयमा प्राविधिक विज्ञका रुपमा केही व्यक्तिहरुलाई भर्ना गरेका छन्।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update