एकपछि अर्को विषयमा विवाद गर्दै पार्टीभित्र विवाद चर्किरहेकोबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपरान्ह १ बजेका लागि डाकेको बैठक एकहप्ता पर धकेल्दै सहमतिको उपाय खोज्ने भएका छन्।
कांग्रेसभित्रको असन्तुष्ट पक्षसँग भएका चरणबद्ध वार्तामा सहमति नजुटेपछि शुक्रबार सभापति देउवाले आजको बैठक स्थागित गर्दै पुस १० गते १ बजेका लागि सारेका हुन्।
सुरुमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको माग सम्बोधनका लागि महाधिवेशनको कार्यतालिका समेत ल्याउन सभापति तयार भएपछि बाँकी सबै विभागदेखि भातृ संस्थामा आफूले माग गरेबमोजिमको स्थान नपाए बैठकमा अनुपस्थित रहने अडान असन्तुष्ट पक्षले लिँदै आएको थियो।
सहमतिको खोजी गर्दै देउवा स्वयं पनि वरिष्ठ नेता पौडेलको निवासमा पुगी सहमतिका लागि आग्रह गरेलगत्तै कार्यदलको तर्फबाट उपसभापति विमलेन्द्र निधिलाई वार्तामा खटाएका थिए।
उक्त कार्यदलमा सहमतिको नजिक पुगेको बताउँदै आएपनि असन्तुष्ट पक्षका नेतैपिच्छेको अलगअलग अडानका कारण नेतृत्वले सहमतिमा पुग्न नसकेपछि आज पनि पौडेलले आफ्नो गुटका सदस्यहरुको भेला आफ्नै निवासमा बोलाएका थिए।
उनीहरु आज पनि बैठकमा नआउने सम्भावना देखेपछि आजबाट संसदको हिउँदे अधिवेशन सुरु भएर यहि बीचमा प्रतिनिधि सभाको सभामुख पदको समेत निर्वाचन रहेको कारण सभापति देउवाले पार्टीको बैठक एक हप्ता पर सारेका हुन्।
यसअघि पनि दुई पटक बैठक स्थगित गरेका देउवाले यो बीचको समयमा आफैँले हदैसम्मको लचकता अपनाएर सहमतिको खोजी गर्ने भन्दै आजको बैठक स्थगित गरेको देउवा निकट एक नेताले बताए।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय