नेपाली कांग्रेसको विधान वमोजिम चारवर्षको नियमित कार्यकालभित्र १४औं महाधिवेशन गर्न असम्भव भएपछि पार्टी नेतृत्वले सबै तहको समयावधि एक वर्ष थप गर्ने तयारी गरिरहेको छ।
गत वर्षको पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको संशोधित विधानको दफा ७२ को उपदफा (४) बमोजिम अन्तरिम संरचना गठन तथा समायोजन प्रक्रियाकै चरणमा रहेको कांग्रेसले निर्धारित समयमा अधिवेशनको प्रक्रिया सुरु गर्न नसकिने निश्कर्षमा पुगेको हो। यस्तो अवस्थामा कांग्रेसले विधानको दफा ४३ बमोजिम समायोजन प्रक्रियाको असाधारण परिस्थिती र संक्रमणकालिन अवस्था रहेको भन्दै सबै तहको कार्यकाल एक वर्ष थप्ने तयारी गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार, २०७२ साल फागुन २० देखि २३ सम्पन्न १३ महाधिवेशनबाट गठन भएको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल यहि फागुन १९ गतेदेखि समाप्त हुँदैछ।
नियमित समयमा महाधिवेशन गर्न नसकेको कांग्रेस नेतृत्वले विधानको दफा ४३ को प्रावधान अनुसार एक वर्ष थप अर्थात २०७७ साल फागुन १९ गतेसम्मका लागि कार्यकाल थप गर्ने गरी भोलि शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा निर्णायार्थ प्रस्ताव लैजाने तयारी भइरहेको छ।
असन्तुष्ट पक्षले तत्काल महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै मंसिर २६ गतेबाट सुरु भएको जारी केन्द्रीय कार्र्यसमिति बैठक बहिष्कार गर्दै आएकोमा पार्टी नेतृत्वले महाधिवेशनको कार्यतालिकासहित आगामी वर्षको फागुन पहिलो साता अथवा फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने योजना बनाएको छ।
जसका लागि विधानको दफा ७२ को उपदफा ४ बमोजिम नयाँ संविधान परिमार्जित विधानको आधारमा प्रतिनिधि सभादेखि वडा तहसम्मका पार्टीका अन्तरिम संरचनाहरुको गठन तथा समायोजन प्रक्रिया यहि पुस मसान्तभित्र सम्पन्न गरेलगत्तै महाधिवेशनको प्रक्रिया सुरु गर्ने योजना रहेको छ।
यदि केन्द्रीय निर्वाचन समितिले गत साउन १७ र २६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट पाएको म्यान्डेट अनुसार सम्पूर्ण तहको समायोजन प्रक्रिया पुस २५ भित्र सकेर आफ्नो प्रतिवेदन तत्काल केन्द्रलाई बुझायो भने त्यसपछि कांग्रेसको महाधिवेशन प्रक्रियाको प्रारम्भिक चरण सुरु हुनेछ।
अर्थात, पार्टीको क्रियाशील सदस्यता वितरण तथा नविकरणको प्रक्रिया माघमा सुरु गर्दै ०७७ जेठ पहिलो सातासम्म गरिसक्ने र यसरी वितरित अथवा नविकरण भएका क्रियाशील सदस्यहरुको विरुद्धमा परेका उजुरी विधान बमोजिम तहगत आधारमा छानविन गरी साउनको पहिलो साताभित्र अन्तिम निर्णय लिने तयारी पनि कांग्रेसले गरिरहेको छ।
देशभरीबाट संकलित क्रियाशील सदस्यहरुको नामावली एकीकृत गरी असोजसम्ममा नामावली टुंग्याएको कांग्रेसले त्यसबीचमा पर्ने विभिन्न चाडबाडको समयलाई पनि ख्याल गर्दै मंसिरको पहिलो सातादेखि अन्तिम साताभित्र वडा तहदेखि जिल्लातहसम्मको अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ।
जिल्लाको अधिवेशन मंसिर महिनाभरीमा सकेपछि कांग्रेसले प्रदेश अधिवेशन आगामी वर्षको पुसको पहिलो साता गर्ने र अन्त्यमा ०७७ फागुन पहिलो साता, सकेसम्म फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन १४औं महाधिवेशनको उद्घाटन गर्ने योजना बनाएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय