हिमाल दैनिक
देउवालाई छाडेर पौडेलसँग नजिकिएका सिटौलालाई भागवण्डाको अवसर आउँदा भान्छा बाहिरै!
congress leaders
नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनमा विगत डेढवर्षदेखि सभापति शेरबहादुर देउवालाई छोडेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग हातेमालो गर्न पुगेका नेता कृष्णप्रसाद सिटौलालाई भातृ संस्थाको गठन प्रक्रियामा भने पौडेल पक्षले साथ नलिएपछि ‘वल्लो घाट न पल्लो तिरको’ अवस्थामा पुगेका छन्। विशेषगरी विद्यार्थी संघको तदर्थ समिति गठनका लागि सभापति शेरबहादुर देउवाले विगत केही समय पहिलेदेखि नै राजीव ढुंगानाको नेतृत्वमा प्लेन समिति बनाउने प्रस्ताव अघि सारेका थिए। जसमा अध्यक्षको रुपमा ढुंगानालाई तोकेर बाँकी सदस्यहरुको चयन असन्तुष्ट पक्षका नेता नेता रामचन्द्र पौडेल पक्षले दिएको नामलाई प्राथमिकताका आधारमा राख्दै त्यसपछि सिटौलाको सिफारिसलाई मिलाएर समिति बनाउन देउवा तयार थिए। तर, पौडेल पक्षलले पदाधिकारीसहितको कमिटी बनाउन पर्ने अडान लियो। त्यसपछि सभापति देउवाले तत्काल १०१ सदस्यीय समितिमा पदाधिकारीको घोषणा गरी बाँकी सदस्यको मनोनयन एकहप्ताभित्र गरिसक्ने प्रस्ताव अघि सारेका थिए। जसमा चार जना महामन्त्री राख्ने तयारी देउवाले गरेका थिए। तर, पदाधिकारीका रुपमा मनोनित महामन्त्रीमा तेस्रो समूहका नेता सिटौला र फोरम लोकतान्त्रिकबाट पार्टीमा समायोजन भएका उपसभापति विजयकुमार गच्छदारको पनि हिस्सा रहने जानकारी पाएपछि पौडेल पक्षले असहमति जनाएको देउवा पक्षका एक नेताले बताए। एकातिर नेता सिटौलाले विद्यार्थी संघको ११औं महाधिवेशनबाट बनेको कार्यसमितिमा आफ्नो तर्फबाट महामन्त्री कुन्दन काफ्ले वरियताक्रममा माथि रहेको भन्दै सोही मुताविक नयाँ समितिमा स्थान पाउनु पर्ने अडान लिने। अर्कोतर्फ पौडेल पक्षले कार्यसमितिको पदाधिकारीमा महामन्त्रीको संख्या नबढाई उपसभापति, महामन्त्री, कोषाध्यक्ष लगायतको एक÷एक पदमध्ये महामन्त्री आफैँले पाउनु पर्ने अडान लिँदै आएको छ। गत महाधिवेशनको निर्णायक चरणमा सभापति देउवालाई साथ दिएपनि पछिल्लो केही समय पौडेल पक्षसँग नजिकिएका सिटौलालाई पौडेल पक्षका नेताहरुले भातृ संस्थामा आफ्नो पक्षबाट त परै जाओस् सभापतिले पनि कुनै स्थान दिन नहुने दबाब दिन थालेपछि सहमतिको विषय अलमलमा परेको त्यी नेताले बताए। हुनत पौडेल पक्षले सिटौलालाई भातृ संस्थाको विषयमा मात्र होइन, पार्टीभित्रका विभागहरुको भागवण्डादेखि कार्यसम्पादन समिति गठनदेखि संसदीय समिति गठनको प्रक्रियामा पनि आफ्नो गुटभित्र समावेश गर्न नचाहेर सभापति देउवातिरै धकेल्दै आइरहेको छ। यसरी पौडेल पक्षले भातृ संस्थामा कुनै हिस्सा नदिने रणनीति अपनाएको जानकारी पाएपछि नेता सिटौलाले मंगलबार नेता पौडेल र प्रकाशमान सिंह लगायतका नेतासँग भेटवार्र्ता गरी सहमतिको कोशिश गरेका थिए। तर, मंगलबारको कोशिशले सार्थकता पाउन नसकेपछि आज वरिष्ठ नेता पौडेलले आफ्नै निवासमा बोलाएको गुटको बैठकमा सहभागी हुन पुगेका थिए। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले विद्यार्थी संघको नयाँ नेतृत्व नयाँ विधानको प्रावधान अनुसार ३२ वर्ष मुनिकैमध्येबाट बनाउनु पर्ने सुझाव दिएको एक सदस्यले बताए। अपरान्ह १२ बजेपछि मात्रै जिल्ला बाहिर रहेका महामन्त्री शशांक कोइराला आइपुगेपछि सुरु भएको पौडेल पक्षको बैठक लामो समयसम्म चलेपछि नेता सिंह र सिटौलाकै आग्रहमा सभापति देउवाले अपरान्ह १ बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस ४ गते १ बजेसम्मका लागि सारेका थिए। सहमति खोज्न गठिन कार्यदलले भोलि अपरान्ह ३ बजेपछि बैठक बसेर सकेसम्म भोलि नै सबै विषयमा सहमति कायम गरी पर्सीको केन्द्रीय कार्यसमितिमा निर्णयका लागि पेश गर्ने छ। यदि भोलि र पर्सीसम्म पनि कार्यदलबाट समाधान निस्किएन भने सभापति देउवाले जारी केन्द्रीय कार्यसमितिको बैठक पर्सी १ बजे नै राखेर विधान र लोकतान्त्रिक प्रक्रिया अनुरुप बहुमतका आधारमा निर्णय लिने तयारी पनि भइरहेको स्रोतले बतायो।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update