नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज पनि स्थगित भएको छ।बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।
पार्टीको महाधिवेशन, कार्यकाल थप, भ्रातृ संस्थाको नेतृत्व चयन लगायतका विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिल्दा पटक–पटक बैठक स्थगित गरिँदै आएको छ । सभापति पक्षले जबरजस्ती पेलर जान खोजेको भन्दै पौडेल पक्षले आइतबारको बैठक बहिस्कार गरेपछि यसबीचमा सहमतिको लागि पहल भइरहे पनि कुनै टुंगोमा नपुग्दा बुधबारको बैठक पनि स्थगित गरिएको हो ।
उपसभापति बिमलेन्द्र निधि र नेता प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीबीच छलफल भइरहेपनि सहमति बनेको छैन । पार्टीमा देखिएको विवाद समाधानका लागि पहल भइरहेकाले ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यता, बुधबारै पनि पौडेल पक्षको बैठक पौडेल निवास बोहोराटारमा बसेको थियो । बैठकले नेविसंघ, तरुण दल, विभाग गठन र महाधिवेशनको कार्यतालिका तथा कार्यकाल थपका विषयमा एकै पटक निर्णय हुनुपर्ने अडान दोहो-याएको छ ।
१४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा नजाने अडान राख्दै बरिष्ठ नेता पौडेल पक्षले बारम्बार बैठक बहिष्कार गर्दै आएको छ । पौडेल पक्षको अनुपस्थितिमै गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ बनाउनेलगायतका एजेन्डा केन्द्रीय समितिमा पेश गरेका थिए।
अब अर्को बैठक पुष ४ गते दिउसो १ बजे डाकिएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय