हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सहमतिकै माध्यमबाट अघि बढाउन अधिकतम लचकताकासाथ एक कदम पछि हट्दै सोमबारको केन्द्रीय कार्यसमिति बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्। बिहिबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी बैठकले तय गरेका प्रस्तावहरुप्रति असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित रहेपछि विवाद समाधानका लागि गठित कार्यदलको पछिल्लो प्रगति विवरणका आधारमा सभापति देउवाले सहमतिको हरसम्भव उपाय खोज्न तयार भएका हुन्। शनिबार आफैँले उपसभापति विमलेन्द्र निधिलाई साथ लिएर पौडेल निवासमा पुगेका देउवाले पार्टीभित्र विवाद भन्दा सहमतिको खाँचो रहेको र त्यसमा पौडेलको साथ चाहिएको बताएका थिए। तर, वरिष्ठ नेता पौडेलले जारी बैठकमा १४औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म र पार्टीका भातृ संस्थामा भागवण्डाका आधारमा आफ्नो समूहलाई सम्मानजनक स्थान नदिएसम्म बैठकमा अनुपस्थित रहने अडान दोहोर्याएका थिए। त्यसपछि सभापति देउवा र पौडेल पक्षबाट समस्या समाधानका लागि गठित कार्यदलको शनिबार, आइतबार र सोमबार पटक पटक बसेको अनौपचारिक छलफलमा दुबैपक्षबीच सहमतिका आधारमा समस्या समाधान खोज्ने तत्परता देखिएको थियो। यसका लागि दुबै पक्षले के कसरी हुन्छ यसअघिको पार्टी निर्णय अनुरुप अन्तरिम संरचना समायोजन प्रक्रियालाई पुस महिनाभित्र टुंग्याएर त्यसपछिको समयमा अधिवेशनको तयारीका लागि आवश्यक पर्ने समय किटानीका साथ महाधिवेशनको कार्यतालिका तय गर्नेबारे छलफल भएको थियो। यसका बाबजूद पौडेल पक्ष बैठकमा अनुपस्थित रहेको भएपनि सभापति देउवाले आइतबार नै आफ्नो पक्षका सदस्यहरुलाई आजको बैठकमा समयमै उपस्थित हुन निर्देशन दिएका थिए। तर, विहान र दिउँसो गरी दुई पटक बसेको कार्यदलको बैठकमा सबै विवादित विषयहरु अनौपचारिक वार्ता र छलफल मार्फत टुंग्याएपछि औपचारिक निर्णयका लागि केन्द्रीय समितिमा पेश गर्नु उपयुक्त हुने धारणामा कार्यदलभित्र सहमति जुटेपछि उपसभापति निधि पार्टी मुख्यालय सानेपा पुगेका थिए। निधि पुग्नु अगावै सभापति देउवासँग अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि सकभर सहमतिकै माध्यमबाट अघि बढ्नु उपयुक्त हुने र त्यसका लागि सभापति अझ बढि जिम्मेवार र लचक हुन सुझाव दिएको एक नेताले बताए। सोमबार र मंगलबार दुई दिनको समय लिएर सबैले सहमतिको प्रयास गर्न आग्रह गर्दै सिटौलाले आजको बैठक स्थगित गर्न मात्र आग्रह देउवालाई गरेनन्। यदि बुधबारसम्म असन्तुष्ट पक्षसँग सहमति कायम हुन सकेन भने आफूले पनि सभापति देउवाले अघि सारेको प्रस्तावहरु केन्द्रीय कार्यसमिति बैठकबाट पारित गराउने विषयमा साथ दिने आश्वासन दिएको त्यी नेताले बताए। सोमबार अपरान्ह १ बजेका लागि डाकिएको बैठकमा पौडेल पक्षबाहेक अन्य बहुमत केन्द्रीय सदस्यहरु उपस्थित भएर बैठक कक्षमा तीन घण्टासम्म कुरेपछि सभापति देउवाले हदैसम्मको लचकता अपनाउँदै सहमतिका लागि आजको बैठक पर्सिसम्मका लागि सारेको जानकारी केन्द्रीय सदस्य इश्वरी न्यौपानेले दिइन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update