हिमाल दैनिक
संयुक्त राजनीतिक प्रतिवेदनमाथिको छलफल भोलि पनि जारी
nekapa stahi kamiti baithak
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमति जनाएका हुन् । महाधिवेशन गर्नका लागि केन्द्रिय समितिबाट पास गराई त्यसको तयारीमा लाग्नुपर्ने धारणा पनि सदस्यहरुले राखेका थिए । सोमबारको बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायत १२ जनाले धारणा राखेका थिए । बैठकमा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले भने प्रतिवेदनमाथि लिखित धारणा राखेका थिए। प्रत्येक वक्तालाई आफ्नो धारणा राख्नको लागि २० मिनेटको समय दिइएको थियो । त्यस्तै बैठकमा अमेरिकाले अघि सारेको ‘मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका कार्यक्रम संसदबाट पारित गर्न नहुने माग उठेको छ । नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको झन्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा कार्यान्वयनमा आउन सकेको छैन । बैठकमा बोल्दै भीम रावल र देव गुरुङले त्यसलाई पारित गर्न नहुने धारणा राखेको बुझिएको छ । त्यस्तै, सदस्यहरुले स्थायी समिति बैठक ढिलो बसेकोमा आलोचनात्मक दृष्टिकोण राखेका थिए । त्यस्तै, स्थायी समिति बैठकमा राष्ट्रियता, स्वाधिनताको विषय पनि जोडतोडका साथ उठेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक मंगलबार ११ बजे पुनः बस्ने छ । बैठक आइतबारबाट सुरु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update