नेपाल सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले संविधानको मौलिक हकलाई कुण्ठित गर्ने गरी ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त विधयकमा राखिएका प्रावधानको सम्बन्धमा कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नागरिकको ‘गोपनीयताको हक’ समाप्त पार्ने विधेयक संसदमा दर्ता
‘सरकारद्वारा अगाडि बढाइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा खाणले भनेका छन्। ‘प्रस्तुत भएको विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। साथै कांग्रेसले संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई सचेत पनि गराएको छ।प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय