हिमाल दैनिक
कांग्रेस कार्यदल बैठकः महाधिवेशनको कार्यतालिका आए विभाग गठन र भातृ संस्था गठनका लागि पौडेलपक्ष तयार हुने
79688979_10157922223752329_4293426115705307136_o
नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि चाक्सीवारीमा बसेको कार्यदलको बैठकमा दुबै पक्ष सहमतिकै आधारमा तत्काल महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै बाँकी विषयमा पनि सहमति साथ अघि बढ्न सहमत भएको छन्। नेता प्रकाशमान सिंहको निवासमा सोमबार बिहान उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीबीच भएको कार्यदलको बैठक सहमतिकै आधारमा अघि बढ्न तयार भएको जानकारी नेता बडुले दिए। बैठकपछि हिमाल दैनिकसँग कुरा गर्दै नेता बडुले भने, ‘छलफलका क्रममा महाधिवेशनको कार्यतालिका पनि यहि बैठकबाट ल्याउने सहमति भएपछि बाँकी विभाग गठन र भातृ संस्थाको गठन तथा समयावधि थप गर्ने विषयपनि हुन्छ।’ बैठकमा भएका छलफल र सहमतिका बुँदाहरुको विषयमा दुबै पक्षले आफ्ना आफ्ना पक्षका नेताहरुसँग परामर्श गरी सकभर आजै सहमति कायम गराउने तयारी भइरहेको पनि बडुले बताए। बिहिबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत एजेण्डा र बाँकी सहमतिका एजेण्डाहरुलाई पहिले अनौपचारिक रुपमा छलफल गरी औपचारिक निर्णयका लागि केन्द्रीय समिति बैठकमा पेश गर्न सकिने उनले बताए। १४औं महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा कहिलेदेखि क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने, कहिले बुथ र वडातहको अधिवेशन गर्ने भन्ने समयसँगै केन्द्रीय महाधिवेशनसम्मको समय तालिका तय गरी अघि बढ्न दुबै पक्षका नेताहरुको आन्तरिक गृहकार्य भइरहेको छ। यदि सहमतिको विषयमा नेतृत्वबीच कुरा मिलेमा आज अपरान्ह १ बजेका लागि डाकिएको बैठक केही समय लम्बिएर साँझ अथवा अर्को दिन पनि सर्न सक्ने छ। तर, असन्तुष्ट पक्षसँग कुरा मिलेन भने आज डाकिएको बैठकले प्रस्तुत एजेण्डाहरु पारित गर्दै बैठक सक्ने तयारी अनुसार सभापति शेरबहादुर देउवा अघि बढ्न सक्ने सम्भावना पनि त्यत्तिकै रुपमा कायम रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update