पक्ष/विपक्षबीच उत्पन्न विवाद र बहिष्कारकाबीच बिहिबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आइतबार सामान्य जानकारी र छलफल पश्चात सोमबारसम्मका लागि स्थगित भएको छ।
विभिन्न माग अघि सार्दै आजको बैठकमा पनि असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडलसहितका केन्द्रीय सदस्यहरु अनुपस्थित रहेपनि सभापति शेरबहादुर देउवाले पार्टी मुख्यालय सानेपामा बैठक सुचारु गरे।
बैठकको सुरुमा उपसभापति विमलेन्द्र निधिले पछिल्लो समय पार्टीभित्र उत्पन्न विवाद समाधानको विषयमा शनिबार सभापति देउवा र आफूले वरिष्ठ नेता पौडेलको निवासमा पुगेर सहमतिको प्रयास गरेको जानकारी दिएका थिए।
https://www.facebook.com/himaldainik/videos/2525504447734048/
साथै उनले दुई पक्षबीच समस्या समाधानका लागि गठित कार्यदलको शनिबार साँझ नेता प्रकाशमान सिंहको निवासमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र यसबारे आफूले आजै बिहान महामन्त्री शशांक कोइरालाको निवासमा पुगेर पनि छलफल गरेको जानकारी बैठकलाई गराएका थिए।
यसका अतिरिक्त निधिले आजै पनि नेता सिंहसँग टेलिफोन मार्फत कुराकानी गर्दा विवादस्पद विषयहरुमा सहमतिको नजिक रहेको भएपनि वरिष्ठ नेता पौडेल पारिवारिक धार्मिक यात्राका लागि पाथीभरा दर्शनमा गएकोले पौडेल राजधानी फर्किएपछि सिंह र कोइरालाले परामर्श गरी समाधानको बाटो चाँडै खोजिने विश्वास आफूहरुले लिएको बताएका थिए।
पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेण्डा नभएको, पार्टीका विभाग गठनमा आफूहरुले मागे अनुसारको विभाग र संख्या नदिएर सभापतिले आफ्नो रणनीतिक दाउपेच पूरा गर्न संख्या बढाउन खोजेको, तरुण दल र नेविसंघमध्ये एउटा भातृ संस्थाको नेतृत्व आफूहरुलाई दिन तयार नभएको भन्दै असन्तुष्ट पौडेल पक्षले बिहिबारदेखि सुरु बैठक बहिष्कार गरेको थियो।
पौडेल पक्षको बहिष्कारका बाबजूद सभापति देउवा पक्षका कतिपय नेताहरुले समयको पदचाप अनुसार पार्टी संगठनलाई क्रियाशील बनाउन सकेसम्म सहमतिको माध्यमबाट र नभए प्रजातान्त्रिक पद्धितीबाट अघि बढाउन दबाब दिँदै आएका छन्। फलस्वरुप सभापति देउवाले विगतमा असन्तुष्ट पक्षले कुनै विषयमा विवाद गरे केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर अधिकतम् लचकता र सहमति गराउँदै अघि बढेपछि यसपटक भने उनले बैठक रोक्ने वा अल्पमतसमक्ष लत्रिने छान नदेखाई बैठकको प्रक्रिया अघि बढाएर अर्को पक्षलाई पनि दबाब दिएका छन्।
यसैबीच आजको बैठकमा अर्का उपसभापति विजयकुमार गच्छदारले पनि पार्टीभित्रको समस्या समाधान पार्टीभित्रैका जिम्मेवार नेताहरु एकआपसमा बसेर निकाल्दै अघि बढ्न सुझाव दिएका थिए।
त्यसैगरी संसदीय दलमा प्रमुख सचेतक नेता बालकृष्ण खाणले सरकारको संविधान विपरित र अलोकतान्त्रिक नीति अनुरुप विभिन्न विधेयकहरु सदनमा दर्ता गराएर नागरिकका संविधानप्रदत्त मौलिक अधिकारहरुमाथि बन्देल लगाउने प्रयास भइरहेको जानकारी गराएका थिए।
नेता खाणले विशेषगरी सरकारले सदनमा पेश गरेको प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक तथा नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कारण आगमी हिउँदे अधिवेशन पचिलो बन्न सक्ने तर्फ पार्टीको ध्यानाकर्षण गराएका थिए।
त्यसपछि आजको बैठकमा प्रस्तुत प्रस्तावको पाँचौँ बुँदामा उल्लेखित उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचन समिक्षाको विषयमा संयोजक रमेश लेखकले आफ्नो रिपोर्ट बैठकमा पेश गरेका थिए।
त्यसपछि सभापति देउवाले आजको बैठक स्थगित गर्दै सोमबार पुनः बस्नेगरी भोलि १ बजेसम्मका लागि स्थगित गरेका थिए।
कांग्रेसभित्रको पछिल्लो विवादको विषयमा दुई पक्षबीच भोलि अपरान्हसम्ममा सहमति कायम भयो भने जारी बैठक एक वा दुई दिन थप लम्बिन सक्ने र यदि सहमति कायम भएन भने भोलि नै प्रस्तावित विषयहरु पारित गर्दै बैठक सक्ने तयारीमा सभापति देउवा रहेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय