सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबारबाट बसेको छ। नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको आजको बैठकमा अध्यक्ष दाहालले आफु र अध्यक्ष केपी ओलीको तर्फबाट १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि बिभिन्न ५ वटा एजेण्डा तय गरेको थियो। बालुवाटारमा बसेको बैठकले राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डामा छलफल गर्ने तय गरेको थियो। प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गरेका छन् भने अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका छन् ।
https://www.facebook.com/himaldainik/videos/2467254863602187/
एक वर्षपछि डाकिएको बैठकमा नेता भिम रावल र रघुजी पन्तले बैठक प्रारम्भ हुनसाथ एक बर्ष ढिलो किन भयो भन्दै प्रश्न गरेका थिए। नेता रावलले बैठक बस्न एक बर्ष ढिलो किन भयो र यसको कारण के हो भनि प्रश्न गरेका थिए। रावलले पार्टी बैठक ढिला गरी बोलाइएकोमा आगामी दिनमा यसलाई दोहोरिन नदिने प्रतिवद्धता अध्यक्ष प्रचण्डले राखेको जानकारी दिए। नेकपाको विधानमा स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने प्रावधान छ। बैठकमा महासचिव बिष्णु पौडेलले बिधान संशोधन प्रस्ताव पनि पेश गरेको रावलले बताए ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित थिएनन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि उनि अहिले आराम गरिराखेका छन्।
अब स्थायी समितिको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ। नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय