हिमाल दैनिक
कांग्रेसको कार्यदलको बैठक चाक्सीवारीमा ३ घण्टा चल्दा पनि निस्किएन निकास
Congress flag
नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलको तीनघण्टा लामो छलफल विना निश्कर्ष टुंगिएको छ। पछिल्लो समय सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल पक्षबीच सहमति कायम गरी अघि बढ्न गठित कार्यदलको पार्टी नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा शनिबार अपरान्ह भएको छलफलमा पार्टीभित्र उत्पन्न सबै विवादस्पद विषयमा सकारात्मक छलफल भएपनि समाधानको टुंगो भने लाग्न सकेन। सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच शनिबार बिहान भएको वार्ता विना निश्कर्ष टुंगिएलगत्तै उपसभापति विमलेन्द्र निधिले सभापतिको तर्फबाट नेता सिंहलाई टेलिफोन मार्फत कार्यदलको बैठक राखेर सहमति खोज्न आग्रह गरेका थिए। वार्ता र सहमति मार्फत निकास खोज्ने सवालमा आफू सिंह निवासमा आएर वार्तलाप गर्न तयार रहेको पनि निधिले बताएका थिए। नेता सिंहले आफू दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेता खेलाडी र प्रशिक्षकहरुको सम्मान कार्यक्रममा व्यस्त रहेको जानकारी दिँदै उक्त कार्यक्रम सकिए लगत्तै कार्यदलको बैठकको लागि समय दिने बताएका थिए। त्यसपछि अपरान्ह सिंहले पौडेल पक्षबाट कार्यदलमा रहेका नेताद्धय दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीसँगै उपसभापति निधिलाई पनि बोलाएका थिए। चाक्सीवारीमा तीनघण्टासम्म भएको छलफलमा पौडेल पक्षका नेताहरुले १४औं महाधिवेशनको कार्यतालिका नआएसम्म सहमतिको आधार तय हुन नसक्ने अडान लिएका थिए। छलफलमा देउवा पक्षबाट एक्लै उपस्थित भएका उपसभापति निधिले कार्यसूचिमा के कसरी अघि बढ्न सकिन्छ भनि राय सुझाव माग गरेका थिए। जवाफमा पौडेल पक्षका नेताहरुले पहिले सभापतिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको सुनिश्चितता गरेपछि त्यसपछि बाँकी विषयमा छलफल र सहमति मार्फत समाधानमा पुग्न सकिने बताएका थिए। साथै नेता सिंह लगायतका नेताहरुले बिहान वरिष्ठ नेता पौडेलले राखेकै विचारका आधारमा महाधिवेशनको कार्यतालिका पश्चात दुबै पक्षको आफ्नो हैसियत अनुसार सम्मानजन ढंगले नेविसंघ, तरुण दलको गठन तथा विभाग बनाउने विषयमा पनि अघि बढ्न सकिने धारणा राखेका थिए। उनीहरुले कुनै पक्षले पनि आफ्नो पोजिसन लिएर यहि हुनु पर्छ नभन्ने पनि बताएका थिए। त्यसपछि उपसभापति निधिले यसबारे सभापति देउवा र अन्य नेताहरुसँग परामर्श गरी थप छलफलका लागि सम्भवत भोलि पनि भेटवार्ता हुन सक्ने जानकारी दिएका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update