पार्टीभित्र सहमतिको उपाय खोज्दै निवासमा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं अधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन नसक्ने जवाफ दिएर रित्तोहात पठाइदिएका छन्।
बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका एजेण्डाको रुपमा नआएको भन्दै विवाद चर्काएर बैठक समेत बहिष्कार गरेका नेता पौडेललाई समहमतिमा ल्याउन सभापति देउवा शनिबार उपसभापति विमलेन्द्र निधिलाई साथ लिएर पौडेल निवास बोहोराटार पुगेका थिए।
कुराकानीको थालनी गर्दै सभापति देउवाले पौडेलसँग रामचन्द्रजी तपाई मेरो सहकर्मी र नजिकको साथी पनि हो भन्दै आफूलाई पार्टीमा सहयोग गर्न आग्रह गरेका थिए।
https://www.facebook.com/himaldainik/videos/575288376360479/
पार्टीमा केन्द्रीय सदस्यहरुको संख्या पनि ठूलो छ र सबैलाई मिलाएर जिम्मेवारी बाँडफाँट गर्न मलाई अब विभागको केही संख्या बढाएर विभाग गठनको लागि तपाईले सहयोग गर्नु पर्यो। भातृ संस्थाहरुको नेतृत्व अभावमा संगठन प्रभावित भएकोले तरुण दल र नेपाल विद्यार्थी संघ गठनका लागि पनि यहाँले सहयोग गर्नु पर्यो भनि सभापति देउवाले पौडेसँग सहयोगको लागि अनुरोध गरेका थिए।
साथै उनले आफू महाधिवेशन गर्ने कुरामा कहिँ असहमत नरहेको बताउँदै यसबारे विगतमा पनि पटक पटक कुरा गरेर सहमतिकै आधारमा पहिले विधानको दफा ७२ (४) बमोजिम अन्तरिम संरचना बनाउन राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई जिम्मा दिएको स्मरण गराएका थिए।
देउवासँगको भेटवार्तापछि हिमाल दैनिकसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘मैले आफ्ना कुरा भने। मुख्य रुपमा १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेण्डाका रुपमा नआएसम्म आफू बैठकमा आउन सक्ने कुरा भएन भनि जानकारी दिए।’
उनले महाधिवेशनको कार्यतालिका आएपछि मात्रै ४ वर्षको कार्यकाल फागुनमा सकिन लागेको केन्द्रीय कार्यसमितिको समयावधि के कति थप गर्ने भन्ने बारे निधो हुन सक्ने धारणा राखेको बताए।
पौडेलले महाधिवेशनको कार्यतालिकाको विषय उठाएपछि सभापति देउवाले पुनः उनलाई सम्झाउँदै विधान बमोजिम समायोजनको प्रक्रिया टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका बनाउन नसक्ने स्थितिबारे स्मरण गराएका थिए। साथै देउवाले जतिसक्दो चाँडो निर्वाचन समितिले समायोजनको प्रक्रिया टुंग्याउँछ त्यति चाँडो आफू महाधिवेशनको विषयमा अघि बढ्ने आश्वासन दिँदै भने, ‘म पनि महाधिवेशन नगर्ने कुरा कहाँ गरिरहेको छु र? महाधिवेशन गर्ने कुरामा नाई भनेकै छैन।’
देउवाले पार्टी विधान बमोजिम केन्द्रीय समितिले पार्टीको म्याद थप्न सक्ने भएपनि महाधिवेशन र निर्वाचनको कार्यतालिका विधान बमोजिम गठन भएको निर्वाचन समितिले तय गर्ने जानकारी दिए। साथै देउवाले दुबै पक्षका प्रतिनिधिहरु रहेको निर्वाचन समितिले यसअघिको निर्णय अनुसार समायोजन प्रक्रिया टुंगो नलगाई अधिवेशनको कार्यतालिका तय गरी अघि बढ्न नसक्ने बताइसकेको अवस्थामा पार्टीका कामकारबाही अवरुद्ध पार्न नहुने बताएका थिए।
कांग्रेसका गत पुसमा सम्पन्न महासमिति बैठकदेखि नै महाधिवेशनको मुद्दा उठाउँदै आएका पौडेलले गत साउनमा पनि यहि विषय चर्काएपछि केन्द्रीय कार्यसमितिको साउन १७ गतेको बैठकले पहिलो बुँदामा अन्तरिम संरचनाबारे निर्णय गरेको थियो। जसमा भनिएको छः
१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ । अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।साथै साउन २६ गतेको केन्द्रीय समिति बैठकले पनि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ। यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइने उल्लेख छ। उपसभापति निधिलाई साथ लिएर पुगेका देउवाले पौडेलसँगै केन्द्रीय सदस्य हृदयराम थानीलाई देखेपछि ‘ए तपाईले पनि उहाँलाई बोलाउनु भएको हो?’ भनि ठट्यौलो पारामा प्रश्न गरेका थिए। जवाफमा पौडेलले आफूले पार्टी नेता प्रकाशमान सिंहलाई पनि बोलाएको र उनी नआउँदासम्म थानी पनि बस्ने बताएका थिए। देउवाले सहयोगका लागि गरेको अनुरोधको जवाफमा नेता पौडेलले आफू पनि सभापतिलाई सहयोग गर्न सँधै तयार रहेको भन्दै पार्टीभित्र सबै विषयमा सहमतिको आधारमा र ‘क्रय÷बिक्रय’का आधारमा गरौँ भनि प्रस्ताव राखेका थिए। पार्टीभित्रका बाँकी विषयहरुमा आफ्नो तर्फबाट नेता प्रकाशमान सिंह, दिलेन्द्रप्रासद बडु र हृदयराम थानीलाई खटाएको टोलीसँग दुबै पक्षका प्रतिनिधि सम्मिलित कार्यदलले न्यायपूर्ण, पारदर्शी र सम्मानजनक ढंगले समाधान खोज्न सक्ने धारणा राखेको पौडेलले बताए। सभापति देउवाले तत्काल बैठकमा पेश भएको एजेण्डा अनुरुप पार्टीका विभागहरु गठन तथा नेविसंघ, तरुण दल लगायतका भातृ संस्थाको गठन, विस्तारबारे सहमति खोजेका थिए। तर, जबाफमा पौडेलले आफूले महाधिवेशनको कार्यतालिका लगायतका विषय समाधान नगरी विभाग र भातृ संस्थाकोबारेमा कुरा गर्न नलाग्न सुझाव दिएको बताए। आइतबारको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पार्टीभित्र सहमतिको प्रयास गर्न सभापति देउवा र निधि पौडेल निवास पुगेपनि पौडेलले सहमतिमा पूर्वसर्त राखेपछि त्यहाँबाट अपरान्ह फर्किएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय