पार्टीभित्र उत्पन्न विवाद समाधान गरी सहमतिको आधारमा जारी केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पुगेका छन्।
शनिबार बिहान करिब १० बजे उपसभापति विमेलन्द्र निधिलाई साथ लिएर सभापति देउवा वार्ताका लागि पौडेल निवास बोहोराटार पुगेका हुन्।
मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो दिन पदाधिकारी बैठकले तय गरेको एजेण्डामा १४औं महाधिवेशनको कार्यतालिका न राखिएको भन्दै वरिष्ठ नेता पौडेल र उनी निकट केन्द्रीय सदस्यहरुले बैठकमा अनुपस्थित रहने अडान लिएपछि कांग्रेसभित्र गुटगत विवाद चर्किएको थियो।
त्यसका बाबजूद सभापति देउवाले बिहीबारको बैठकमा केही समसामयिक निर्णयका अतिरिक्त उपनिर्वाचनको समिक्षा, भातृ संस्थाको संख्या बृद्धि र तरुण दल लगायतका भातृ संस्थाको विषयमा प्रस्ताव छलफलका लागि पेश गर्न लगाएका थिए।
तर, पौडेल पक्षले महाधिवेशनको कार्यतालिका नल्याएर अधिवेशन पर धकेल्ने रणनीतिमा सभापति लागेको आरोप लगाउँदै बैठकमा अनुपस्थित भएका थिए।
पौडेल पक्षले बैठक बहिष्कार गरेको विषयमा सभापति देउवा पक्षका नेताहरुले भने गत साउन १७ गतेको निर्णय अनुसार, विधानको दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन समितिले तल्लो तहसम्म गठन गर्नु पर्ने अन्तरिम संरचना गठन नभइसकेको अवस्थामा महाधिवेशनको कार्यतालिका आउन नसक्ने बताउँदै पहिलो प्राथमिकता अन्तरिम संरचनाको गठन प्रक्रियाको टुंगो भएको बताउँदै आएका छन्।
यसका बाबजूद पनि पौडेल पक्ष देउवाको विरुद्ध मोर्चाबन्दीमा लागेपछि शुक्रबार कांग्रेसका केही नेताहरुले सभापति देउवालाई सहमतिको अन्तिम प्रयास स्वरुप पौडललाई आफैँले गएर भेट्न र सहमतिको प्रक्रियाबाट पार्टीलाई अघि बढाउन सुझाव दिएका थिए।
सोही सुझावका आधारमा देउवा र निधि आज बिहानै पौडेल निवास पुगेका हुन्।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय