
नेपाली कांग्रेसको वर्तमान नेतृत्वपंक्तिमा रहेको पुस्तादेखि नयाँ युवापुस्तासम्मका नेता, कार्यकर्तामा लेखन तथा अध्ययनप्रतिको लगाव न्यून हुँदै गएको आरोप लाग्दै आइरहेको बेला नेता रामशरण महतले समसामयिक नेपाली अर्थ–राजनीतिको विषयमा नयाँ पुस्तक सार्वजनिक गरेका छन्।
‘ट्रायल्स, ट्रेमर्स एण्ड होप, दि पोलिटिकल इकोनोमि अफ कन्टेमपोररी नेपाल’ शीर्षकमा पूर्व अर्थमन्त्री महतले तयार पारेको पुस्तकको एक कार्यक्रमकाबीचमा पूर्व राष्ट्रपति रामवरण यादवले बुधबार राजधानीमा विमोचन गरे।
नेपालको अर्थ–राजनीतिमा विगक केही दशक यता भौतिक र राजनीतिक क्षेत्रमा भएको गम्भीर उतार चढाबका कारण मुलुकको राजनीतिक र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको विषयलाई समेटेर पुस्तक तयार पारिएको लेखक महतले बताए।
साथै उनले माओवादी हिंसा र द्धन्द्धले देशको राजनीतिकसँगै आर्थिक क्षेत्र समेत प्रभावित भएको अवस्थामा विनाशकारी भुकम्पका कारण पनि नेपालको राजनीतिक, आर्थिक क्षेत्र प्रभावित हुँदा पनि वर्तमान अर्थ राजनीतिमा आशा जीवित नै भएको बताए।
उनले पछिल्लो समय आएको राजनीतिक परिवर्तन पश्चात संविधान सभाले उत्कृष्ट संविधान बनाएको र त्यसको सफल कार्यान्वयनका लागि बलियो अर्थतन्त्रको आवश्यकता भएको बताए।
पुस्तक विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले विकास निर्माणको नाममा पछिल्लो समय देखिएको जथाभावी सडक निर्माण र वन फँडानीले चुरे संरक्षणमा थप चुनौति र तराईको मरुभूमिकरण समस्या बढ्न सक्नेप्रति सचेत रहन सबैलाई आग्रह गरे।
खासगरी नेपाल जस्तो सानो मुलुकमा पूर्व–पश्चिम राजमार्गका अतिरिक्त मध्यपहाडी लोकमार्ग, रेलमार्ग, निजगढ विमानस्थल जस्ता आयोजनाका नाममा चुरे र तराईको बन सखाप हुने अवस्थामा वातावरणीय सन्तुलन खलबलिने स्थिति रहेको विषय लेखकले समेट्न जरुरी भएको उनले बताए।
पुस्तकमाथि समिक्षा गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेल १२ भागमा लेखिएको महतको पुस्तकमा अर्थ–राजनीतिको विषयमा सूक्ष्म विश्लेषण भएपनि लेखकले कतिपय विषयमा स्पष्ट धारणा व्यक्त गर्न नसकेको प्रतिक्रिया दिए।
उनले भने, ‘लेखकले संविधानमा राखिएको संघीयताको विषयमा जनमत बुझ्न आवश्यक भएको भने पनि पछिल्लो समय विस्तारै उठ्दै आएको धर्म निरपेक्षता र भूमि व्यवस्थापनमा देखिएको विवादबारे कुनै विचार स्पष्ट रुपमा आउन सकेको छैन।’
पुस्तकमाथि कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजाल, पत्रकार कनकमणी दिक्षित, बलियो नेपाल अभियानका अध्यक्ष स्वर्णिम वाग्ले लगायतले समिक्षात्मक टिप्पणी गरेका थिए।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय