मंगलबार सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागी खेलाडी र प्रशिक्षकको सेवा सुविधामा समेत अनियमितता गरेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई तत्काल वखास्त गरी भ्रष्टाचारको विषयमा गम्भीर छानविन गर्न अख्तियारसँग माग गरेको छ।
मंसिर १५ गते सुरु भएर मंगलबार समापन भएको साग खेलकुदमा सत्तारुढ दल नेकपाको नेतृत्वमा रहेको सरकार र त्यसका मन्त्री तथा पदाधिकारीहरुले खेलाडीको सेवा, सुविधा र आवश्यक सामाग्रीमा भन्दा मन्त्रीहरुका लागि दौरा सलवार खरिदमा खेलकुदको रकम दुरुपयोग गरेर देशकै बदनाम गरेको आरोप लगाउँदै तरुण दल अध्यक्ष जितजङ्ग बस्नेतले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव रमेश शिलवालमाथि छानविन गर्न माग गरेका हुन्।
साग खेलकुदमा फुटबल लगायतका विभिन्न विदामा नेपाली टिम तथा खेलाडीले प्राप्त गरेको ऐतिहासिक सफलताप्रति सबै खेलाडी तथा प्रशिक्षकहरुलाई तरुण दलले बधाई तथा शुभकामना समेत दिएको छ।
५१ स्वर्ण पदक, रजत ६० र कास्य ९५ पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको विज्ञप्तिमा उल्लेख छ।
पदक जित्ने खेलाडीहरुले देशको इज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेको सम्मान स्वरुप उनीहरुमध्ये स्वर्ण पदक जित्ने प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्ने प्रत्येकलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषदसंग तरुण दलले माग समेत गरेको छ।
खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई पुरानो निजि साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ।
‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
साथै साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी बिना टेण्डर प्राप्त गरेको ईसेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा संचालन गरेको भन्दै तरुण दलले खेद प्रकट गर्दै उक्त कम्पनी माथि छानबिनको प्रकिृया सुरु गरी कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय