हिमाल दैनिक
नेकपाले मङ्सिर २९ र ३० गते बोलायो स्थायी समितिको बैठक
nekapa sachibalaye ko baithak
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी समितिको बैठक आह्वान गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । नेकपाको स्थायी समितिको बैठक गत वर्ष पुसदेखि बस्न सकेको थिएन । पछिल्लो समय नेताहरूले पाटीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए । स्थायी समिति बैठक बस्नुअघि २७ गते फेरि सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ । यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिए पनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो । पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए। रिपोर्ट प्राप्त भएपछि महासचिव विष्णु पौडेलले अर्को सचिवालय बैठकमा पेश गर्ने उनले बताए। बैठकमा संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ । यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने निर्णय गरिएको छ । विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने र केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update