हिमाल दैनिक
कोहलपुर घटनाको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । नेविसंघका काठमाडौं जिल्ला समितिका सभापति मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । पशुपति क्याम्पसबाट सुरु भएको विरोध ‍¥याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर(१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज(कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update