समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले कोरोनाको त्रासदिबीचमा सरकारले पेट्रोलियम पदार्थमा जनतामाथि ठगिगरेको आरोप लगाएका छन्।
कोरोनाको कारण जनता सडकमा उत्रिदैनन् भन्ने मनसायले सरकारले संकटलाई ठगि गर्ने अवसरको रुपमा लिएको पनि उनले आरोप लगाए।
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भने, ‘अहिले विज्ञहरूले बताए अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मागभन्दा आपूर्ति बढी छ। त्यसको मूल्य ६८ प्रतिशत घटेको छ तर, नेपालमा ९ प्रतिशत मात्र घटाएको छ। यो मूल्य समायोजनमा भएको सरकार र आयल निगमको नाफाखोर प्रवृत्ति मात्र नभई गैरजिम्मेवारीपना पनि हो।’
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा तुरुन्त बढाउने तर, घट्दा भने तद्अनुरूप नघटाउने प्रवृत्ति लोककल्याणकारी राज्यको वकालत गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई सुहाउने कुरा नभएको उनको जिकिर छ।
उनले भने, ‘सरकारले २०७३ जेठ महिनादेखि बुढीगण्डकी पूर्वाधार विकास करका नाममा पेट्रोल, डिजेल र हवाई इन्धन आयात गर्दा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिन थालेकोमा कोरोना भाइरसको त्रास फैलिरहेको बेला २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासका नाममा अतिरिक्त पाँच रुपैयाँ थोपरेर प्रतिलिटर दश रूपैयाँ पुर्याएको छ। संसद् छलेर गरिएको उक्त स्वेच्छाचारी निर्णय जनतामाथिको घात हो। यो कोरोना भाइसरको कारण जनतामा त्रास फैलिरहेको बेला सरकारले गरेको डकैत हो।’
सरकारको यो निर्णयका कारण सर्वसाधारणको जनजीवनसँग सम्बन्धित खाद्यान्न, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, औषधी लगायत दैनिक उपभोग्य वस्तु र उत्पादन क्षेत्रमा चौतर्फी प्रभाव परेको उनले बताए।
कोभिड(१९ नेपालमा प्रवेश हुन नदिन सरकारसँग सहकार्य गर्न तयार
समाजवादी नेता श्रेष्ठले आफ्नो पार्टी विश्वमा कोभिड(१९ नामले झण्डै १६२ देशमा संक्रमित भइरहेको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिनका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै भने, ‘कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ। नेपाल सरकारले यसको नियन्त्रणका सन्दर्भमा देशको कुनैपनि भागमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ। मानव जीवनभन्दामाथि राज्य र पार्टीका कार्यक्रम, भेला आदि हुन सक्दैन। यस्तो संकटको घडीमा नेपाल सरकारसँग सहकार्य गर्न र त्यसको नियन्त्रणका लागि सहयोग गर्न समाजवादी पार्टी तयार छ।’
सहअध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो पार्टीले देशव्यापी रूपमा पार्टी विस्तार तथा सुदृढीकरण अभियान चलाइरहेको सबैलाई जानकारी नै छ। अब सबै तहका समितिहरूले कोभिडविरुद्धको अभियानमा आआफ्नो तहका सरकारसँग सहकार्य गरी अगाडी बढ्नु पर्दछ। त्यसैले २५ जनाभन्दा बढी उपस्थित हुने पार्टीका सबै भेला, प्रशिक्षणहरू स्थगित गर्नु पर्दछ। तर, बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडी लाग्नु हुँदैन।’
उनले भने, ‘विसु अभियान अन्तर्गतका ससाना जरुरी भेटघाट, बैठक तथा पार्टी समायोजन कार्यक्रमहरू जारी नै रहने छ।’
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय