विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपाललाई कोराना भाइरस संक्रमणको उच्च जोखिमयुक्त राष्ट्रको सूचिमा राखेसँगै सरकारले संक्रमणको सम्भावित प्रकोपबाट बच्न र बचाउँन अर्को निर्णय नभएसम्म सार्वजनिक सभा, सम्मेलन, भोज, भतेर लगायतका जमघट कार्यक्रम नगर्न आग्रह गरेको थियो।
चीनको वुहान प्रान्तबाट सुरु भएर विश्वभर त्रासदी र माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणप्रति लक्षित गर्दै सरकारले लिएको कदममा साथ दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि फागुन २१ गते ६ बुँदे विज्ञप्ति सार्वजनिक गर्यो। जसअनुसार, पार्टी र पार्टीमा आबद्ध संस्थाहरुको सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको निर्णय सार्वजनिक पनि भयो।
त्यसका बाबजूद शनिबार सरकारका शिक्षा मन्त्री गिरिराजमणी पोखरेल महोत्तरीको मटिहानी नगरपालिकास्थित याज्ञवल्क्इ लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित भवन उद्घाटन गर्न पुगेपनि कार्यक्रम स्थलमा पुगेपछि कहिँकतैबाट सरकारको निर्णयबारे जानकारी पाएर अथवा सम्झिएर हो भवन उद्घाटन नै नगरी राजधानी फर्किए।
तर, कांग्रेस नेता शेखर कोइराला भने आसन्न महाधिवेशनलाई लक्षित गरी विभिन्न जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला, प्रशिक्षण कार्यक्रम जारी राख्दै हिँडेका छन्। पेशा र ज्ञानले स्वयं आफैँ पनि चिकित्सक रहेका कोइराला र उनीसँगै रहेको टोलीले जारी राखेको सभा, सम्मेलन, प्रशिक्षण, भेला जस्ता कार्यक्रमले सरकारसँगै पार्टीको निर्णयलाई पनि लत्याएको गुनासो पार्टीभित्र र बाहिर चलिरहेको छ।
जसको कारण भोलिका दिनमा कहिँकतै कुनै अप्रिय घटना भयो भने अथवा डब्ल्युएचओ र सरकारले कांग्रेस पार्टीमाथि आरोप नलगाओस् भन्ने हेतुले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार कोइरालालाई गरेको आग्रह र त्यसपछि कोइरालाले व्यक्त गरेको सार्वजनिक अभिव्यक्तिले कांग्रेसभित्रको जुहारी सार्वजनिक रुपमा सतहमा आएको छ।
विश्वभर व्याप्त माहामारीप्रति आम जनतालाई सचेत र सजग गराउन भन्दा पनि पार्टीको आगामी महाधिवेशन केन्द्रीत कार्यक्रमलाई कोइरालाले निरन्तरता दिएपछि शुक्रबार पार्टी प्रवक्ता शर्माले फोनमार्फत गोरखामा रहेका कोइरालालाई कार्यक्रम रोक्न आग्रह गरेका थिए।
तर, त्यसका बाबजूद कोइरालाले पार्टी केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्वय गोविन्दराज पोखरेल र स्वर्णिम वाग्लेसहितको संलग्नतामा करिब ३ सय जना जिल्लास्तरिय नेता, कार्यकर्तामाझ एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरे।
कार्यक्रमको सुरुको तीन मिनेटजति समय कोरोना भाइरसबाट बच्ने उपायबारे जानकारी दिएर बाँकी समय कोइरालाले पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैलीसँगै सरकारको आलोचना गरे।
त्यसको भोलिपल्टै कोइरालाले गोरखामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता शर्माले गरेको आग्रहप्रति कटाक्ष गर्दै आफू स्वयं चिकित्सक भएकोले कोरोनाको विषयमा सिकाउनु नपर्ने ओठे जवाफ दिएको समाचार सार्वजनिक भयो।
यसरी कोइरालाले विश्व स्वास्थ्य संगठनले गरेको आग्रह, सरकारसँगै पार्टीले लिएको निर्णयविरुद्ध गतिविधि जारी राखेर आफूप्रति गरेको कटाक्षपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत घुमाउरो पाराले नेता कोइरालासहितको समूहलाई राजनीति संधै पार्टी वा व्यक्तिको प्रचारमा रहनु पर्छ भन्ने नभएको जवाफ दिए।
उनले शनिबार ट्वीटरमार्फत जनचेतनाका लागि पार्टी केन्द्रीय सूचना तथा संचार विभागको अपिल सार्वजनिक गर्ने क्रममा भनेका छन्, ‘राजनीति संधै पार्टी या व्यक्तिको प्रचारमा रहनुपर्छ भन्ने हुन्न। आकांक्षाको बजार प्रवदर््धन या आरोपमा अलमलिंदा समयको संवेदनशीलता राजनीतिले कदापि भुल्नु हुन्न। यो समय कारोना संक्रमणबारे जनचेतना भर्ने समय हो।’
https://twitter.com/bishwaprakash77/status/1238796971562823682
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय