हिमाल दैनिक
कोरोना भाइरसविरुद्ध सरकारी रणनीति सार्वजनिकः ‘पकेट एरिया लक डाउन’देखि हवाइ उडान बन्दसम्म
Swasthye mantralay
विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीको रोकथामका लागि राज्यका तर्फबाट भएको पूर्वतयारी फितलो भएको भन्दै संसदभित्र र बाहिर आलोचना भइरहेकै बेला सरकारले प्रभावित क्षेत्र नै बन्द गराउनेदेखि अन्तराष्ट्रिय उडान बन्द गराउने योजना बनाएको छ। भारत, अमेरिका र विश्वका विभिन्न मुलुकले उडान सेवा बन्दसँगै विभिन्न रणनीति अपनाइरहेकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका प्रभावकारीताका साथ पकेट एरिया लक डाउनदेखि आवातजावत बन्द लगायतका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको हो। बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू माहामारीको अवधिभर बन्द गर्ने योजना सरकारले बनाएको जानकारी दिए। सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको, हब तथा स्याटालाइट अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिएको उनले जानकारी दिए। त्यस्तै प्रादेशिक अस्पतालहरुबाट समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरि राखिएको , विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको मन्त्रालयले जनाएको छ। उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको प्रवक्ता देवकोटाले बताए। मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा उल्लेख गरिए अनुसार ‘पकेट एरिया लक डाउन’ गर्ने जनाएको छ। जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश समेत रहने छन्। इटलीले आफ्नो देशमा एकाएक कोरोना भाइरसबाट ठूलो मृत्यु र संक्रमण फैलिएपछि एक करोड ६० लाख जनतालाई आफ्नै घरमा बन्द गरेर बस्न आदेश जारी गरेको थियो। त्यस्तै कोभिड–१९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने रणनीति सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाइएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update