
प्रमुख राजनीतिक दलहरुले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार सिंहदरवारमा बसेको सर्वदलीय बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन एकतावद्ध लाग्ने निष्कर्ष निकालेको हो ।
बैठकमा कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भएको थियो । बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेकाप्रयास सकारात्मक भएपनि पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले सबै मन्त्रालयलको समन्वयमा एकीकृत ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए । बैठकपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले कोरोना भाइरस संक्रमणको सम्भावनालाई ख्याल बनाएको उच्चस्तरीय समितिको कामका बारेमा जानकारी गराएको बताए ।
समन्वयात्मक ढंगले सूचना सम्प्रेसण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि यही बेलामा सक्षम बनाएर लैजाने लगायतका सुझाव प्राप्त भएको पोखरेलले बताए । उनले सरकारको तयारी र कामको विषयलाई सबै दलले अत्यन्तै सकारात्मकरूपमा लिएको पाइएको जिकिर गरे । त्यस्तै कांग्रेसका सांसद गगनकुमार थापाले कारोना नियन्त्रणका लागि बिभिन्न सुझाव दिएको बताए।
समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले यसबारे सचेतना कसरी अपनाउनेर त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताए ।
बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भैसकेकाले यसमा नेपाल यसकोरोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ । त्यस्तै कोरोनाको सूचनालाई व्यवस्थीत रुपमा प्रवाह गर्ने निर्णय पनि भएको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए ।
काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय