सरकारले अत्यावश्यक वस्तुको कुनै अभाव नभएको भन्दै खाद्यान्न, औषधी लगाएतका वस्तुहरुको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सरकारले गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निजी क्षेत्र लगाएत सरोकारवाला निकायसंग छलफल गर्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकार लागिपरेको र अहिले कुनै पनि बस्तुको अभाव नरहेको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो।
नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न समितिले विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो।
बैठकमा ६ महिनालाई पुग्ने खाद्यान्न, ३ महिनालाई पुग्ने इन्धन र ४ महिनालाई पुग्ने औषधि रहेको जानकारी गराइएको थियो। बैठकमा नीजि क्षेत्रमा प्रतिनिधिहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका थिए।
https://youtu.be/HHK5jR4zImo
त्यस्तै औषधी व्यवसायहरुले पनि प्रयाप्त औषधी रहेको भन्दै कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले औषधि पनि ३–४ महिनालाई पुग्ने मौज्दात रहेको बताए।
भारततर्फबाट हुने व्यापारमा केही अवरोध नरहेको र अधिक स्टक गर्न आवश्यक नरहेको उनले जानकारी दिए। छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेको खतिवडाले बताए।
बैठकमा बैठकमा अर्थमन्त्री युजराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको सहभागिता रहेको थियो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय