मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत क्रमिक सुधार भइरहेको शिक्षण अस्पतालले जनाएको छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको जानकारी दिए ।
उनलाई ठोस आहार दिन सुरु गरिएको खड्गाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु समान्य अवस्थामा रहेका छन् । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिश सुधार आएको र ठोस आहार दिन थालिएको डा खड्गाले जानकारी दिए । अबको करिव एकसातापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गरिने डा खड्गाले बताए ।
यसैबीच प्रधानमन्त्री ओलीले आफु छिटै काममा फर्कने सन्देश दिएका छन् । शुक्रबार प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई टेलिफोन गरि ओलीले तीव्र सुधार देखपरिरहेको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गरेको उनका प्रेस सल्लाहका सुर्य थापाले बताए । “मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु”, टेलिफोन संवादमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, “ मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनुहोला ।”
उनका अनुसार प्रधानमन्त्रीसंग अन्य कोहि व्यक्तिलाई भेट्न दिइएको छैन । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
“प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भने, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।” प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय