हिमाल दैनिक
असन्तुष्ट पक्षको विरोध र असहयोगका बाबजूद नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न जिल्ला पार्टी उपसभापतिहरुसँगको संयुक्त बैठक सम्पन्न गरेको छ। प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिको सभापतित्वमा बुधबार प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुले जिल्ला प्रशिक्षण शाखाका प्रमुख एवं करिब तीन दर्जन जिल्ला उपसभापतिहरुसँग दिनभर पार्टी मुख्यालय सानेपामा बैठक गरे। बैठकमा प्रतिष्ठानका सदस्य एवं आधारभूत प्रशिक्षण पुस्तिका कार्यक्रम २०७६ का संयोजक केशव निरौलाले नेपाली कांग्रेसका ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण कार्यक्रमका लागि दिइने प्रशिक्षण कार्यक्रमको कार्ययोजना प्रस्तुत गरेको पार्टी कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। उक्त बैठकले प्रस्तुत पुस्तिका अनुमोदन गर्नुका साथै ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरुमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना पनि अनुमोदन गरेको छ। बैठकलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिष्ठानका प्रमुख एवं उपसभापति निधिले ७७ वटै जिल्ला र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुलाई निर्देशन दिए। बुधबार बिहानमात्रै असन्तुष्ट पक्षका नेताहरुले प्रकाशमान सिंहको निवास चाक्सीवारीमा भएको भेलामा महाधिवेशनलाई प्रभावित गर्नेगरी आयोजित कार्यक्रममा उपस्थित हुन नहुने निर्देशनका बाबजूद पनि सहभागी हुँदै प्रशिक्षण प्रतिष्ठानको बैठक महाधिवेशनको कार्यतालिका सुनिश्चितताका लागि पनि आवश्यक रहेको निश्कर्ष निकालेको एक सहभागीले बताए। पार्टीको विधान र नियमावलीमा रहेका प्रावधानहरुको आधारमा प्रत्येक क्रियाशील सदस्यहरुको नविकरणका लागि पनि आधारभूत प्रशिक्षणको आवश्यकता रहेको बताउँदै बैठकले आजको कार्यक्रममा अनुपस्थित रहेका जिल्ला उपसभापतिहरुलाई पनि जतिसक्दो चाँडो यसबारे बुझाएर जिल्ला जिल्लामा सम्बन्धित जिल्ला पार्टी सभापतिसँगको समन्वयमा प्रशिक्षण शाखा गठन गर्ने तयारी पनि भएको छ। यसअघि केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले चैत १५ गते देशका ७७ जिल्लाका २ सय स्थानमा करिब १० हजार जना क्रियाशील सदस्यलाई आधारभूत प्रशिक्षकको प्रशिक्षण तालिम दिने तयारीसँगै चैतभित्र देशभरीका सबै वडातहसम्मका ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने कार्यतालिका तय गरेको थियो। तर, चीनको वुहान शहरबाट सुरु भएर विश्वभर संक्रमणका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणप्रति सरकारसँगै पार्टीले पनि केही समयका लागि औपचारिक सभा, सम्मेलन र कार्यक्रम स्थगित गर्ने निर्णयका कारण उक्त कार्यक्रम पनि प्रभावित हुने भएको छ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update