हिमाल दैनिक
प्रभावकारिता देखाउन नाममा रेलिङ भाँच्न र कुर्सी तोड्न कांग्रेसले सक्दैनः देउवा
deuba at trade union
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलको भूमिका कमजोर नभएको दाबी गर्दै प्रभावकारिता देखाउने नाममा आफूले सडकमा रेलिङ भाँच्ने र सदनमा कुर्सी तोड्ने कार्य नगर्ने स्पष्टोक्ति दिएका छन्। पार्टीभित्रैको असन्तुष्ट पक्षका नेताहरुले सभापति देउवा र उनको नेतृत्वमा पार्टीको सदनभित्र र बाहिरको भूमिका कमजोर भएको आरोप लगाउँदै आएको बेला सभापति देउवाले त्यसको प्रतिउत्तरमा यस्तो अभिव्यक्ति दिएका हुन्। कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा ट्रेड युनियन कांग्रेसले बुधबार राजधानीमा आयोना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘पाल्र्यामेन्टमा भूमिकाको सन्दर्भमा रेलिङ भाँच्ने र कुर्सी तोड्ने काम म गर्दिन। हिँजो पनि पार्टीले यस्तो कार्य गरेन र भोलि पनि गर्दैनौँ।’ संसदमा पार्टी र पार्टीका सदस्यहरुको भूमिका कमजोर नभएको दाबी गर्दै देउवाले आफ्ना सांसदहरुले सदनभित्र हरेक विषयमा दिनहुँ राष्ट्रिय राजनीति र जनताको चासोको विषयमा सशक्त रुपमा आवाज उठाइरहेको पनि बताए। पार्टी नेता रामचन्द्र पौडेलले सदनभित्र पार्टीको भूमिका कमजोर भएको र संगठनको अवस्था अत्यन्त जिर्ण रहेको भनि आफ्नो भूमिकाप्रति गरेको आलोचनाको पनि देउवाले जमेर प्रतिवाद गरे। https://www.facebook.com/himaldainik/videos/484746699070161/?t=3 उनले भने, ‘रामचन्द्रजी १७ पटक प्रधानमन्त्रीको चुनाव लड्नु भयो तर, हार्नु भयो के गर्ने?’ आफूहरुले सदनमा सशक्त रुपमा कुरा उठाइरहेको बताउँदै देउवाले थपे, ‘कतिपय कुरा जस्तो रामचन्द्रकै जिल्लामा भएको जिपी (बी.पी.) कोइराला श्वासप्रश्वास केन्द्र फिर्ता ल्याएरै छोड्यौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त हटाएकै हो नि। त्यस्तै कतिपय कानूनहरुमा हामीले सरकारलाई फिर्ता लिन बाध्य बनाएका छौ र बनाउँदै पनि छौ।’ सरकारले सदनमा पेश गरेका कतिपय संविधान विपरितका प्रावधानसहितका अप्रजातान्त्रिक विधेयकहरु आफूहरुले रोक्ने कार्य गरिरहेको र कपितयमा संशोधन गराएको पनि उनले जानकारी दिए। पार्टीका सदस्यहरुले हरेक दिन बोलिरहेको बताउँदै देउवाले भने, ‘हरेक दिन संसद चल्न नदिने कुरा कति उपयुक्त हुन्छ? कतिय विधेयक पारित गराउने सवालमा विपक्षीले रोक्ने कुरा कति जायज हुन्छ कि हुँदैन? त्यसबारे व्यापक छलफल गर्ने कुरा होला तर, हाम्रो भूमिका कमजोर भएको छैन।’ त्यसैगरी कांग्रेसभित्र बल्झिँदै गएको आन्तरिक विवाद र गुटगत झगडाको विषयमा देउवाले कांग्रेसभित्रको झगडा आफूले नउब्जाएको दाबी पनि गरे। ‘कांग्रेसभित्रको झगडा मैले ल्याएकै होइन। गणेशमानजीले पार्टी छोडेकै हो नि, हो कि होइन? भट्टराईजी (कृष्णप्रसाद भट्टराई)ले पार्टी छोडेँ भनेकै हो तर, म कसैले पार्टी छोड्नपर्ने अवस्था आउन दिने छैन र कसैलाई पार्टी छोड्न दिनेवाला पनि छैन, याद गर्नुहोस्।’ सभापति देउवाले अहिले पार्टीका सामु धेरै ठूलो चुनौति आएको बताउँदै विशेष गरी चुनावी राजनीतिमा कुनै दलले जित्नु वा हार्नु सामान्य कुरा भएपनि अहिले नेपालको राजनीतिमा कम्युनिष्टहरुको बहुमतको सत्ताले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने प्रयास गरिरहेको भन्दै यो देश र प्रजातन्त्रका लागि ठूलो खतरा रहेको बताए। उनले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने कोशिश कम्युनिष्टहरुले गरिरहेको भन्दै त्यसको विरुद्ध विरुद्ध आवाज उठाउनुपर्ने बेला आएको बताए। साथै उलने कांग्रेस पार्टीलाई बलियो बनाउन नसके लोकतन्त्र कमजोर हुने भन्दै सबैल पार्टीका नेता र कार्यकर्तालाई पार्टी बलियो बनाउन केन्द्रीत हुन पनि आग्रह गरे। त्यस्तै कागं्रेस बरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वको कमजोरी र असक्षमताका कारण पार्टी संगठन नै कमजोर बनेको आरोप लगाउ। साथै उनले कम्युनिष्ट सरकारले जनतालाई आश्वासन मात्र बाडेको भन्दै कांग्रेसले यसबाट जनतालाई मुक्त गर्नुपर्ने जिम्मेवारी कांग्रेसकै भएको बताए। कार्यक्रममा कांग्रेस नेताहरुले मुलुकमा लोकतन्त्र बलियो बनाउनका लागि कांग्रेस एकतावद्ध र सशक्त भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update