हिमाल दैनिक
गत निर्वाचनमा जनतासमक्ष राजनीतिक स्थायित्व, संमृद्धि र विकासको सपना बाँढेर सत्तामा पुग्न सफल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको सरकारले दुई वर्षको अवधिमा बाचा अनुसारको काम नगरिरहेकै बेला उक्त पार्टीका नेताहरुले संमृद्धिको सपना साकार पार्ने नयाँ सूत्र अघि सारेका छन्। करिब ४ दर्जन सत्तारुढ दलका सांसदहरुले विश्वका अधिकांश मुलुकमा प्रतिबन्धित लागू औषधको रुपमा परिचित गाँजा खेतीलाई वैधानिकता दिन माग सहित संघीय संसदमा दर्ता गरेको गैरसरकारी विधेयक पारित गरेर देश र जनता संमृद्ध बनाउने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपाल कार्यक्रममा बोल्दै नेकपा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले संसदमा दर्ता भएको गाँजा खेतिको व्यवस्थापनन र नियमन सम्बन्धी गैरसरकारी विधेयक पारित भएमा नेपाल र नेपाली जनता समृद्ध हुने दाबी गरे। उनले भने, ‘नेपालमा गाँजा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो। त्यसमा पनि यसमा औषधीय गुण हुन्छ। नेपालको गाँजा विश्वकै महँगो गाँजाको रुपमा बिक्री हुन्छ।’ उनले गाँजा खेती खुल्ला गरिए नेपाल र नेपालीहरु आयआर्जनको हिसाबले पनि धनी र समृद्ध हुने पटक–पटक विश्वास दिलाए। उनले थपे, ‘गाँजा खेतीलाई वैधानिक बनाउन सकियो भने जनतामात्रै होइन, देशपनि समृद्ध हुन्छ। त्यही भएर हामीले संसदमा गैरसरकारी विद्येयकको रुपमा यसलाई दर्ता गराएका छौं।’ उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँजाको कारोबार अरबमा नभएर खरबौं रुपैयाँमा भैरहेको दृष्टान्त सुनाउँदै भने, ‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ।’ उनले गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए। ‘गाँजाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्री भैरहेका छन्,’ उनले थपे, ‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ। खासगरी गाँजाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन्।’ उनले गाँजामा औषधीय गुण भएकोले यसलाई रोक्न नहुने पनि तर्क गरे। तर, नेपालको हकमा यसको सेवनमा भने पूर्णतः कानून लागु हुनेपनि सचेत गराए। उनका अनुसार २१ वर्ष पुगेकाहरुले चिकित्सको सुझावअनुसार सेवन गर्न सकिनेछ। विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई लागुऔषधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ। उनले भने, ‘संयुक्त राष्ट्रसंघले त आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार नै गरेर गाँजा लागुऔषध नभएको कुरा स्पष्ट रुपमा भनिसकेको छ। त्यही भएर ४० भन्दा बढि राष्ट्रले त गाँजालाई वैधानिकता दिईसकेका छन्।’ उनले विश्व प्रतिष्पर्धाको बजारमा पनि नेपालको गाँजा नम्वर एक हुनसक्ने दाबी गरे। आफूहरुले नेपालीलाई कुनै दुव्र्यसनीको शिकार बनाउनको लागि यो कुरा नगरेको पनि तामाङले स्पष्ट पारे। उनले थपे, ‘गाँजाको उत्पादनमा पूर्ण छुट हुन्छ। तर, सेवनको लागि कानून बनाउँछौं र, चिकित्सको प्रेस्किप्नबिना सेवन गर्न दिनुहुँदैन्।’ तामाङले भोलि कसैले नियम तथा कानून उल्लंघन गरे एक वर्षसम्म जेल सजाय र एक लाखसम्म जरिवाना हुनेसमेतको व्यवस्था गर्न लागिएको सुनाए। उनले गाँजामा ४५० भन्दा बढि औषधीय गुण रहेको पनि सुनाए। उनले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि गाँजा खेती खुल्ला गर्दा उक्त योजना ‘गेम–चेन्जर’ हुनसक्नेपनि तर्क गरे। उनले नेपालमा विदेशी पर्यटकहरुको लागि गाँजा सेवन खुल्ला गर्ने हो भने वर्षमा लाखमा नभएर करोडको संख्यामा विदेशी पर्यटकहरु आउनसक्नेपनि सम्भावना औंल्याए। यद्धपी यो विषय अहिले छलफलको पाटोमा नपरेको उनको स्विकारोक्ति थियो। उनले थपे,‘६० र ७० को दशकमा विदेशीहरु नेपाल गाँजा सेवनकैलागि आउँथे। अब भोलिको दिनमा यसलाई खुल्ला गर्ने वा नगर्ने भन्ने विषय यो पूनः छलफलको विषय बन्न सक्ला। म दाबाका साथ भन्छु, यदि विदेशीका लागि गाँजा खुल्ला गरियो भने नेपालले बेचेर भ्याउँदैन्।’ नेपालकै आफ्ना उत्पादन खासगरी रोल्पा र जुम्लाका स्याउले बजार नपाएको अवस्थामा नेपालको गाँजाले अन्तर्राष्ट्रिय बजार पाउँछ भन्नेमा के ग्यारेन्टी छ? भनेर एक पत्रकारले सोधेका प्रश्नमा पूर्वमन्त्री तामाङले भने, ‘त्यो त हाम्रो मेकानिजमको कमजोरी हो। हामीले जुम्ला र रोल्पाका स्याउ काठमाडौं ल्याउनको लागि राम्रो संयन्त्र बनाउन सकेनौं। तर, काठमाडौंबाट रक्सी र बियरका बोटल कसरी त्यहाँ पुगेका छन्? त म प्रश्न गर्न चाहन्छु। म भन्छु नेपालका स्याउले बजार पाउनुपर्छ।’ उनले नेपालका यार्सा गुम्बाहरु नेपालमै बिक्री, वितरण गर्नुपर्नेमा जोड दिए। जब कि गाँजाको वैधानिकताले मात्रै देश र जनताले आय आर्जन गरी संमृद्धि हाँसिल गर्न यसरी उत्पादन भएको गाँजा विश्वको कुन देश र कुन बजारमा बिक्री वितरण गर्ने भन्ने कुनै भरपर्दो आधार अहिलेसम्म यसको पक्षमा वकालत गर्नेहरुले देखाउन सकिरहेका छैनन्।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update