हिमाल दैनिक
प्रतिष्ठानले बोलाएको कांग्रेस उपसभापतिहरुको भेला बहिष्कार गर्ने असन्तुष्ट पक्षको निर्णय
congress dissident
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय नीति, अनुसन्धात तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार बोलाएको पार्टी जिल्ला उपसभापतिहरुको भेला बहिष्कार गर्ने निर्णय गरेको छ। उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको नेतृत्वमा रहेको प्रतिष्ठानले पार्टीका जिल्ला उपसभापतिहरुलाई पार्टीको नयाँ विधान लगायत संगठन विस्तारको विषयमा बुधबार पार्टी मुख्यालय सानेपामा एकदिने छलफल तथा प्रशिक्षणको कार्यक्रम राखेपछि असन्तुष्ट पक्षका नेताहरुले प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बिहान राखेको भेलाले उक्त कार्यक्रम बहिष्कार गर्न आफूनिकटका उपसभापतिहरुलाई निर्देशन दिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता सिंहसहित उपत्यकामा रहेका पार्टी जिल्ला सभापति तथा उपसभापति र केन्द्रीय सदस्यहरुबीच भएको छलफल पश्चात प्रतिष्ठानले राखेको कार्यक्रमको औचित्य नभएको भन्दै उक्त कार्यक्रम बहिष्कारको निर्णय लिएको हो। छलफल पश्चात नेता सिंहले पार्टीको १४औं महाधिवेशनको तिथि, मिति तय भइसकेको अवस्थामा समय घर्किइसकेपछि आयोजना गरिएका यस्ता कार्यक्रमको कुनै औचित्य नहुने आफूहरुको निश्कर्ष रहेको जानकारी दिए। उनले भने, ‘हरेक कुराको काम गर्ने समय हुन्छ। समय घर्कीसकेपछिको कामको कुनै औचित्य हुँदैन।’ उनले महाधिवेशनको मिति तय भइसकेको अवस्थामा महाधिवेशनलाई प्रभावित हुनेगरी पार्टीमा कुनै पनि कार्यक्रम तय गरिनु हुँदैन भन्ने आफूहरुको निश्कर्ष रहेको पनि बताए। केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुनेगरी नै निश्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तबरले गर्न माग गर्दै आजको उपसभापति भेला बहिष्कार गर्ने निर्णय भएको उनले जानकारी दिए। साथै उलने महाधिवेशनको सुनिश्चितताका लागि समायोजनका लागि बाँकी रहेका काम सकेर महाधिवेशनको तयारीमा अघि बढ्नु पर्नेमा पनि जोड दिए। प्रशिक्षण प्रतिष्ठानले नयाँ विधान र सांगठिनक संरचना लगायतका विषयमा चैत १५ गते देशभरिका १० हजार क्रियाशील सदस्यलाई आधारभूत प्रशिक्षको प्रशिक्षण दिएर चैत मसान्तभित्र पार्टीका ५ लाख क्रियाशील सदस्यलाई पनि प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो। तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले विधानमा रहेको अधिकारको प्रयोग गर्दै केही आमन्त्रित केन्द्रीय सदस्यको मनोनयनसँगै पार्टीका २० विभागका प्रमुखहरुको नियुक्ति गरेपछि असन्तुष्ट पक्षले त्यसको विरोध गर्दै सभापति देउवाले पद र पैसा बाँडेर पार्टी कब्जा गर्न लागेको जस्तो गम्भीर आरोप लगाएको थियो।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update