नेपाली कांग्रेस पार्टीले १४औं महाधिवेशनको प्रक्रियामा विधिवत प्रवेश गर्नु अगाडि देशभरी रहेका आफ्ना करिब ५ लाख क्रियाशील सदस्यलाई आधारभूत तालिम दिने तयारी गरेको छ।
पार्टी विधान अनुसार, केन्द्रीय उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्दीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरीका सबै क्रियाशील सदस्यलाई पार्टीको सांगठिनक विकास र सुदृढिकरणको विषयमा आधारभूत प्रशिक्षण कार्यक्रममार्फत प्रशिक्षित गराउन लागेको हो।
मंगलबार उपसभापति तथा प्रतिष्ठानका प्रमुख निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले बुधबार देशभरीका ७५ जिल्ला उपसभापतिहरुसँग एकदिने परामर्श गर्ने तयारी भइरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ।
पार्टीको विधान र नियमावलीको व्यवस्था अनुसार, कांग्रेसका जिल्ला उपसभापतिहरु जिल्लास्तरिय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ।
बुधबार सम्भव भएसम्म सबै जिल्ला उपसभापतिहरुलाई केन्द्रीय कार्यालय सानेपामा प्रतिष्ठानको तर्फबाट संगठनको विषयदेखि क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा परामर्शसहितको प्रशिक्षण दिने तयारी पनि भइरहेको छ।
त्यसैका आधारमा जिल्लास्तरिय प्रशिक्षण प्रतिष्ठान प्रमुख अर्थात जिल्ला उपसभापतिहरुले आगामी चैतको १५ गते एकैदिन देशभरीका ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षकको प्रशिक्षण तालिम दिने कार्यतालिका आज बसेको प्रतिष्ठानको बैठकले गरेको छ।
यसरी प्रत्येक जिल्ला त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रगरी कुल २ ससय स्थानमा प्रति निर्वाचन क्षेत्र ५० जनाका दरले जम्मा १० हजार जनालाई प्रशिक्षकको प्रशिक्षण तालिम दिने तयारी कांग्रेसले गरेको छ।
यसरी प्रशिक्षकको तालिम पाएका १० हजार प्रशिक्षकहरुले त्यसपछि चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करिब ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिने जानकारी कांग्रेस कार्यालयले दिएको छ।
कांग्रेसले हाल कायम रहेकाे क्रियाशील सदस्यता संख्याकाे ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वडा तहदेखि वितरण गर्ने निर्णय गरेसँगै आगामी महाधिवेशनमा याे संख्या करिब ८ लाखकाे हाराहारीमा पुग्ने सम्भावना रहेकाे छ।
पार्टीले ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशनको मिति तय गरेलगत्तै पार्टीभित्र गट/उपगुटमा विभक्त नेताहरु अधिवेशनको पूर्वतयारीमा देश दौडाहामा लागिरहेका बेला पार्टी नेतृत्वले सांगठिनक गतिविधिलाई अघि बढाएर कार्यकर्तालाई चलायमान बनाउने कोशिश गरिरहेको छ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय